आफन्तको हत्या आरोपमा ३ महिलासहित ४ जना पक्राउ



काठमाडौँ । कैलालीमा एक जना महिलाको हत्या गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका-४ भल्काबस्ने मञ्जु रावलको हत्या गरेको आरोपमा तीन महिला र एक युवकलाई पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भल्का बस्ने ४० वर्षीय गोमा रावल, वर्षा रावल, २४ वर्षीय भरत रावल र अछामको पञ्चदेवल विनायक नगरपालिका-६ तोली बस्ने ३७ वर्षीय सरिता रावल रहेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक मञ्चु र गोमा नातेदार हुन् । उनीहरूबीच जग्गासम्बन्धी अंश विवाद रहेका कारण योजनाबद्ध रूपमा हत्या भएको खुल्नमा आएको प्रहरीले जनाएको छ ।

१४ साउनमा  प्रतिवादी सरिता रावलले मन्जुको हत्या गरेर शव मोहन्याल गाउँपालिका-५ को बाँसघारी सामुदायिक वनको सेतीखोर खोला नजिकै खोल्सामा ढुङ्गामुनि च्यापेर राखेको बयान दिएकी थिइन् । सोही आधारमा प्रहरीले उनलाई घटनास्थल लगेको थियो ।

उनले भनेकै स्थानमा शव टुक्राटुक्रा भएको अवस्थामा फेला परेको र गुलाबी रङ्गको कुर्ता सुरुवालले मृतकको पहिचान भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्