बारामा स्थानीय र प्रहरीबिच भिडन्त हुँदा पाँच राउन्ड हवाई फायर



काठमाडौँ । बाराको जितपुर सिमरा–१६ टांगियाबस्तीमा स्थानीय र प्रहरीबिच भिडन्त भएको छ । इलाका प्रहरी कार्यालय निजगढबाट आज बिहान ६ बजे हतियार रहेको आश‌कामा छापामारी पक्राउ गरेका ३५ वर्षका सागर लामालाई प्रहरी कार्यालयतर्फ लैजान नदिन दोहोरो भिडन्त भएको हो ।

करिब तीन सयको सङ्ख्यामा आएका स्थानीयले १५ जनाको सङ्ख्यामा रहेका प्रहरीकोटोली माथि ढुङ्गा मुढा गरी हतियार सहित पक्राउ परेका लामालाई हतकडी सहित भगाउन सफल भएका छन् । दोहोरो भिडन्तमा प्रहरीतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक कलम बहादुर शाही र प्रहरी सहायक निरीक्षक बालराज गिरी घाइते भएका छन् ।

स्थानीय प्रहरीविरुद्ध खनिएपछि प्रहरीले पाँच राउन्ड हवाई फायर समेत गरेको छ । ठुला हतियार रहेको गोप्य सूचनाको आधारमा निजको घरमा छापा मार्नको लागि प्रहरी निरीक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा १५ जनाको टोली लामाको घरमा बिहानै पुगेको थियो ।

छापामारी पछि लोड भएको भरुवा बन्दुक सहित पक्राउ परेका लामालाई वडा सदस्यको रोहबरमा मुजुल्का बनाएर लैजाने क्रममा जङल छेउ बाटोमा दोहोरो भिडन्त भएको प्रहरीले जनाएको छ ।

उक्त स्थान प्रहरीले लोड गरेको भरुवा बन्दुक एक थान, बन्दुकको गोली २ वटा, बाघको दाँत जस्तो देखिने २ वटा, रौँ १३ वटा र नङ्ग्रा ३ वटा बरामद  गरिएको छ । लामा वन्यजन्तुको सिकारीमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्