सुदूरपश्चिममा आरआईटी पुनःगठन



काठमाडौँ । नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले क्षेत्रीय अनुसन्धान समूह (आरआईटी) पुनः गठन गरेको छ । प्रदेश प्रहरी प्रमुख डीआईजी भरतबहादुर बोहराले वरिष्ठ नायब निरीक्षक डेनीबहादुर स्वाँरको नेतृत्वमा १० सदस्यीय अनुसन्धान समूह गठन  गरेका हुन्।

समूहमा प्रहरी सहायक निरीक्षक द्वय दीपेन्द्र किमाडी र अनिलकुमार विष्ट, प्रहरी हवलदार शंकरसिंह कार्की, नरेशराज भण्डारी, प्रहरी सहायक हवलदार तेजबहादुर बोहरा, भरत सिंह, रंजित साउद र प्रहरी जवान कुमेन्द्रकुमार थापा र सुशील अवस्थी रहेका छन् ।डीआईजी बोहराले अपराध अनुसन्धानमा दक्खल राख्ने र अनुभवी प्रहरी कर्मचारी भन्दा आफू अनुकुल प्रयोग गर्न मिल्ने व्यक्तिलाई आरआईटीमा राखिएको भन्दै आलोचना भएको छ।

सुदूरपश्चिममा २०७० सालमा पहिलो पटक आरआईटी गठन गरिएको थियो । आरआइटीले लागुऔषध नियन्त्रण, फरार अभियुक्त पक्राउ, जघन्य अपराधको अनुसन्धानको क्षेत्रमा राम्रो काम गरिरहेको भन्दै बेलाबखत पुरस्कृत हुँदै आएको पनि थियो ।

पछिल्लो समय वरिष्ठ नायब निरीक्षक केशवराज जोशी नेतृत्वमा रहेको आरआईटीमा कार्यरत सहायक हवलदार दीप पाण्डे र जवान हेमराज भट्टले कञ्चनपुर बेलौरीको फेमली रेष्टुरेन्टका सञ्चालक सुरेशकुमार वडायकमाथि आक्रमण गरेको आरोप लागेको थियो । अहिले उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।

त्यसपछि सुदूरपश्चिम प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रज्वल महर्जनले आरआईटी खारेज गरिएको र भविष्यमा आवश्यक परेमा पुनः गठन गर्न सकिने प्रतिक्रिया दिएका थिए । डीआईजी बोहराले भने आरआईटी खारेज नगरिएको, जिम्मेवारी मात्र हेरफेर गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्