सुन तस्करी प्रकरण सरकारले भन्यो, ‘वेट एण्ड सी गर्नै पर्छ’



काठमाडौँ । सरकारले सुन तस्करी प्रकरणको छानबिन राजस्व अनुसन्धान विभागमार्फत नै प्रभावकारी भइरहेको भन्दै अर्को समिति आवश्यक नरहेको बताएको छ ।बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता मन्त्री रेखा शर्माले यो प्रकरण अनुसन्धानका लागि अर्को समिति आवश्यक नरहेको बताए ।

मन्त्री शर्माले भनिन्, ‘तस्करीको रुटकजमा पुग्छौं भन्ने कमिटमेन्टसहित राजनीतिक नेतृत्व लागिरहेको बेला अर्को समिति बनाउने, विषयवस्तु डाइभर्ट गर्ने कुराले अनुसन्धान प्रक्रियामा पनि प्रभाव पार्छ ।’

उनले सरकारले गरेको अनुसन्धान प्रभावकारी हुँदैन कि भन्ने आशङ्का भए केही समय पर्खिएर हेर्न समेत आग्रह गरिन् । ‘ती आशङ्काको विषयमा त वेट एण्ड सी गर्नै पर्छ । समय कुरेर हेर्न सकिन्छ । आशङ्का गरिरहेको जस्तो भयो भने पछि समिति गठन गर्न सकिन्छ’, मन्त्री शर्माले भनिन् ।

अहिले सुन तस्करी अनुसन्धान गरिरहेको निकाय राजस्व अनुसन्धान विभाग सरकारको शक्तिशाली र अधिकार सम्पन्न निकाय हो भन्दै उनले अर्को समिति  बनाउन आवश्यक नरहेको बताइन् । अर्को समिती बनाउँदा अनुसन्धान नै बाङ्गिने उनको भनाइ रहेको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्विन्टल सुन तस्करी प्रकरण अनुसन्धानका लागि नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेको छ । उसले सरकारी अनुसन्धानमा शङ्का रहेको भन्दै उच्चस्तरीय छानबिन समिति गठन गर्न माग राखेर संसद् बैठक अवरुद्ध गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्