भारतको उत्तराखण्डमा पहिरोले  होटेल पुर्दा १० नेपालीसहित १९ जना बेपत्ता



काठमाडौँ । भारतको उत्तराखण्ड राज्यमा पहिरोमा परि एउटा होटेल पुर्दा १० जना नेपालीसहित १९ जना बेपत्ता भएका छन्।  हिन्दुहरूको चर्चित धाम केदारनाथ प्रवेश गर्ने सडक खण्डको रूद्रप्रयागमा पहिरोले होटेल बगाउँदा जुम्ला र हुम्ला कम्तीमा १० जना नेपालीसहित १९ जना बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बेपत्ता हुने नेपालीहरूमा जुम्लाका चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उनका छोरा जोरा रावत रहेको उत्तराखण्ड प्रहरीले जनाएको छ।

पहिरोमा पुरिएको उक्त होटेल हुम्ला घर भएका वीरबहादुरले गौरीकुण्डमा चलाउँदै आएका थिए। पहिरोमा पुरिएकामध्ये तीन जनाको शव प्रहरीले मन्दाकिनी नदीको किनारबाट निकालेको छ।

वीरबहादुरको होटेलमा खाना खान गएका बेला पहिरोले बगाएको हो। पहिरोमा परेर होटेल सञ्चालक वीरबहादुर उनकी श्रीमती सुमित्रा, छोरी निशा र छोरा हरिबहादुर पनि बेपत्ता भएका छन्।

वीरबहादुरकै होटेलमा खाना खाइरहेका धर्मराज बुढा र छोरा मानबहादुर बुढा पनि बेपत्ता छन्। बेपत्ता हुने थप सात जना पनि नेपाली रहेको जनाइएको छ। तर उनीहरू नेपालको कुन ठाउँका हुन भन्ने खुल्न सकेको छैन।

बेपत्ता हुनेहरूमा अमर बोहरा, उनका छोराहरू मानबहादुर, पृथ्वी, जटिल र वकिल, श्रीमती अनिता, छोरीहरू राधिका र पिंकी रहेका छन् । पहिरोले होटेललाई सोहोरेर मन्दाकिनी नदीमा पुर्‍याएको थियो। बेपत्ता भएकाहरूको खोजी भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्