भारतको अनुदानमा कार्यान्वयन हुने चार वटा परियोजनाका समझदारी पत्रमा हस्ताक्षर



काठमाडौँ । भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालमा कार्यान्वयन हुने चार वटा (शिक्षा क्षेत्रका तीन र खानेपानी आपूर्ति तथा सरसफाइको एक) परियोजनाका समझदारीपत्रमा हस्ताक्षर भएकाे छ ।

भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालमा शिक्षा क्षेत्रका तीन र खानेपानी आपूर्ति तथा सरसफाइको एक गरी चार वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण अघि बढाउन भारतीय राजदूतावास, काठमाडौँ र नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबिच १९ साउनमा समझदारी पत्रमा हस्ताक्षर भएको भारतीय राजदूतावास काठमाडौँले  एक विज्ञप्ति मार्फत जनाएको छ । यी परियोजनाको अनुमानित लागत नेरु. १७ करोड रहेको छ ।

शैल्यशिखर नगरपालिकास्थित श्री गलैनाथ माध्यमिक विद्यालयको विद्यालय भवनको निर्माण, दार्चुला जिल्लाको व्याँस गाउँपालिकास्थित श्री हिमालय माध्यमिक विद्यालयको भवन निर्माण, सङ्खुवासभा जिल्लाको चिचिला गाउँपालिकास्थित दिदिङ प्राथमिक विद्यालयको विद्यालय भवन निर्माण र उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित श्रीपुर खानेपानी आपूर्ति तथा सरसफाइ परियोजनाको कार्यान्वयन क्रमशः शैल्यशिखर नगरपालिका, व्याँस गाउँपालिका, चिचिला गाउँपालिका र त्रियुगा नगरपालिकाले गर्नेछन् ।

निर्माणले स्थानीय समुदायका लागि गुणस्तरीय शिक्षा र खानेपानी तथा सरसफाइ सुविधा उपलब्ध गराउनुका साथै नेपाली जनताको जीवनस्तरमा सुधार  ल्याउने उद्देश्य परियोजनाको रहेको छ ।

सन् २००३ यता भारतले नेपालका सात वटै प्रदेशमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइका क्षेत्रमा र अन्य सार्वजनिक सुविधाको निर्माणमा ५४६ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ । यस मध्ये ४८३ वटा परियोजना सम्पन्न भइसकेका छन् भने बाँकी ६३ वटा परियोजना निर्माणाधीन अवस्थामा रहेका छन् । सबै परियोजनाको कूल लागत करिब नेरु. १२२० करोड (भारु.७६२ करोड) रहेको छ । यी परियोजनाहरू धेरै जसो नेपाल सरकारको स्थानीय निकायमार्फत कार्यान्वयन भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्