कैलालीमा अविरल वर्षासँगै आएको बाढीले ५०० घर डुबानमा



काठमाडौँ । सोमबार रातीदेखिको अविरल वर्षासँगै आएको बाढी बस्तीमा पस्दा कैलालीमा पाँच सय घरधुरी डुबानमा परेका छन् । धनगढी उपमहानगरपालिका, भजनी नगरपालिका, गोदावरी नगरपालिका, चुरे, जोशीपुर र कैलारी गाउँपालिकामा नदीको पानी बस्तीमा पस्दा पाँच सय घर धुरी डुबानमा परेका हुन् ।

खुटिया नदीको पानी बस्तीमा पस्दा धनगढी उपमहानगरपालिका–१५ को कनरीमा १४ घर, काडा र कान्द्रा नदीको बाढीले भजनी नगरपालिका–२, ३, ५, ७ र ८ नम्बर वडामा गरेर साढे दुई सय घर डुबानमा परेका छन् ।

यस्तै कैलारी गाउँपालिका–७ का विभिन्न बस्तीमा कटैनी नदीको पानी पस्दा डेढ सय घर धुरी र जोशीपुर नगरपालिकाका विभिन्न बस्तीमा काडा नदीको बाढीले ५६ घर धुरी प्रभावित भएका प्रहरीले जनाएको छ ।

गोदावरी नगरपालिकाको खैराना खोलाको बाढीले एउटा पसल डुबेको छ भने चुरे गाउँपालिका–५ को गोपालेमा पहिरोले अवरुद्ध भएको बाटो खुलेको छ ।

जिल्ला प्रशासन कार्यालयले बाढीले प्रभावित भएका घर परिवारलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले संयुक्त रुपमा सुरक्षित स्थानमा सार्ने काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्