सङ्खुवासभा कारागारमा झडप हुँदा दुई जना कैदी बन्दीको मृत्यु



काठमाडौँ । सङ्खुवासभा कारागारमा झडप हुँदा दुई जना कैदी बन्दीको मृत्यु भएको छ । नुवाकोटको ककनी–७ घर भएका आकाश बलामी र सङ्खुवासभाको मादी घर भएका बिनोद तोलांगीको झडपमा परी मृत्यु भएको जेलर राजेन्द्र घिमिरेले बताएका छन् ।

बिनोदलाई जबरजस्ती करणी मुद्दामा १८ वर्ष जेल सजायँ तोकिएको थियो भने आकाश चोरी मुद्दामा तीन वर्षका लागि जेल सजाय भोगिरहेका थिए ।आज बिहान कारागारभित्र झडप हुँदा उनीहरू घाइते भएको र अस्पताल लैजाने क्रममा मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए । आज बिहान करिब दुई बजेतिर शौचालयको रड काटेर भाग्ने उद्देश्यले उनीहरू बाहिर निस्किएका थिए । ड्युटीमा खटिएका प्रहरीले देखेपछि उनीहरूलाई नियन्त्रणमा लिएर फेरि जेलमै राखे ।

बिहान करिब पाँच बजेतिर कारागारमा हल्लाखल्ला मच्चिएको थियो । त्यसपछि जेलरसहितको टोली त्यहाँ पुगेर हेर्दा दुई जना गम्भीर घाइते अवस्थामा फेला परेका थिए । घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्