सुदूरपश्चिम प्रदेशमा आज ‘ओल्के’ पर्व मनाइँदै



काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज ‘ओल्के पर्व’ मनाइँदै । यस पर्वको अवसरमा सरकारले आज एक दिन प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।साउने झरी सकिए लगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरपश्चिमका पहाडी जिल्लामा भदौ १ गते ओल्के पर्व मनाउने  प्रचलन रही आएको छ छ ।

ओल्केको अर्थ आफूभन्दा ठुलो र सम्मानित घरपरिवार वा व्यक्तिलाई दिइने सगुन वा उपहार हो । आफूभन्दा ठुलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठोरमसिनो खानु, हात-खुट्टामा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो । वर्षायाममा झाडापखाला, हैजा, लुतो, कुष्ठरोगजस्ता रोग लाग्ने भन्दै ती रोगबाट बाँचिएको खुसी साट्न पनि यो पर्व मनाउने चलन छ ।

गाउँका मुखिया तथा मान्यजनको घरमा हरियो सागपात दिएर वर्षायाममा दैवी प्रकोपबाट बाँचिएको खुसीयालीमा सदभाव बाँड्ने गरिन्छ ।यो पर्वका दिन विवाहित छोरीलाई माइत आमन्त्रण गरेर सेल रोटी, माणा, निसौसे, डुब्कालगायतका मिष्ठान्न परिकार खुवाउने प्रचलन छ ।

ओल्के चाडको दिन गाउँ नजिकको डाँडामा जम्मा भएर रूख बिरुवाका हाँगा र झ्याङ काटेर एक ठाउँमा थुप्रो बनाउने गरिन्छ । यसलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भनिन्छ । यसरी बनाइएको थुप्रोलाई असोज सङ्क्रान्तिमा साँझ गाउँका सबै जना भेला भएर जलाउने गर्छन् । यसलाई ‘बूढी पोल्ने’ भनिन्छ । बूढी पोल्ने काम सकिएसँगै गाउँमा अनिष्ट एवं कुनै रोगको महामारी नआउने विश्वास पनि  छ ।

प्रतिक्रिया दिनुहोस्