जसपाले पार्टीको विधानबाट हटायो उमेर हद



काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले पार्टीको विधानबाट उमेर हदको प्रावधान हटाएर कार्यकालको प्रावधान कायम राखेको छ । विधान अधिवेशनबाट जसपाले पार्टी केन्द्रीय सदस्यको उमेर हद ७० तय गरेको थियो । विधानको धारा–८६ को उपधारा (१) मा ७० वर्ष उमेर भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समितिको पदाधिकारी पदमा निर्वाचित हुन वा मनोनीत हुन पाउने छैन भन्ने उल्लेख थियो ।

२५ साउनमा निर्वाचन आयोगले अभिलेखन गरिएपछि कार्यान्वयनमा आएको सो विधानमा धारा ८६ को उपधारा (१) लाई हटाइएको हो । विधानमा यसअघि राखिएको कार्यकाललाई कायमै राखिएको छ । एउटै पदमा लगातार दुई कार्यकाल उम्मेदवार हुन नपाउने प्रावधान कायम राखिएको हो ।

धारा ८६ मा पार्टीको निर्वाचित जिल्ला समिति, प्रदेश, राष्ट्रिय समिति र केन्द्रीय समितिको पदाधिकारीको हैसियतमा कार्यरत एउटै व्यक्ति, एउटै तह र एउटै पदमा लगातार दुई कार्यकाल वा १० वर्षभन्दा बढी कार्य पूरा गरिसकेको भए सोही पदका लागि पुनः उम्मेदवार हुन पाउने छैन भन्ने उल्लेख छ । उमेर हद कायम रहेको भए पार्टीका अध्यक्ष उपेन्द्र यादव सात वर्षपछि पार्टीबाट अवकाश लिनुपर्ने थियो ।

प्रतिक्रिया दिनुहोस्