पर्वतमा बाँदरबाट क्षति रोक्न वैकल्पिक बाली



पर्वत। गाउँको बस्ती पातलो भइसकेको छ । घरभन्दा मानिसको सङ्ख्या कम हुँदै गएको गाउँ बस्तीलाई वन्यजन्तुले कब्जा गर्न थालेपछि बाली लगाउन छाडेर बाँझै रहेको जग्गा सदुपयोग गर्न महाशिला गाउँपालिका–१ होश्राङ्दीका बासिन्दाले नयाँ जुक्ति अपनाएका छन् ।

बाँदर नियन्त्रणका लागि लाखौँ रुपैयाँ खर्च गरेर अभियान नै थाले पनि कुनै उपाय नलागेपछि बाली नै परिवर्तन गर्न थालिएको हो । मकै, धान, जौ, गुहुँजस्ता अन्नबाली लगाउँदा बाँदरले पुरै सखाप पार्न थालेपछि यस वर्षदेखि व्यावसायिक तरुलखेती गर्न थालिएको छ । अन्नबाली लगाउँदा लगानीअनुसारको प्रतिफल पाउन नसकेपछि स्थानीय कृषकले तरुलखेती सुरु गरेका हुन् ।

गाउँपालिकाको कृषि शाखा प्रमुख सन्तोष धितालका अनुसार स्थानीय २० कृषक मिलेर समूह निर्माण गरी तालिम दिएपछि व्यावसायिकरूपमा तरुलखेती सुरु गरिएको हो । बजारको अवस्थाका बारेमा बुझ्दा रातो तरुलको माग राम्रो भएको पाइएपछि ११ क्विन्टल रातो र दुई क्विन्टल सेतो तरुल लगाइएको उनले बताए । सेतो तरुलको तुलनामा रातो तरुलको माग बढी रहेको धितालको भनाइ छ । अहिले झन्डै पाँच सय रोपनीमा तरुलखेती गरिएको उनले बताए ।

बढ्दै गएको बाँझो जग्गाको सदुपयोग गर्ने उद्देश्यले गाउँपालिका र कृषकले तरुलखेती गर्ने योजना बनाएर यस वर्षदेखि सुरु गरिएको हो । तरुल खेतीका लागि खाडल र मलको जोहो कृषकले गरे भने तरुलको बिउ गाउँपालिकाले शत प्रतिशत अनुदानमा उपलब्ध गराएको हो । गत चैतमा झन्डै १३ क्विन्टल तरुलको बीउ रोपिएको स्थानीय जङ्गबहादुर शाहीले जानकारी दिए ।

गाउँपालिकाले सर्लाहीबाट बीउ ल्याएर कृषकलाई वितरण गरेको थियो । अहिले परीक्षणका रुपमा लगाइएको खेती भए पनि उम्रिएर झाँगिएको र राम्रै फल लाग्ने सङ्केत देखिएको शाहीको भनाइ छ । बाँझो रहेको ठाउँमा तरुल लगाउने र त्यसमा पालिकाले सहयोग गर्ने भनेपछि व्यावसायिकरूपमा तरुल लगाउन कृषकसमेत उत्साहित भएका हुन् ।

आगामी पुस, माघमा तरुल खन्ने बेला हुने र बजारीकरणमा समेत गाउँपालिकाले सहजीकरण गर्ने बताइएको छ । स्थानीय दर्बुडाँडाका डम्बरबहादुर शाहीले सयभन्दा बढी बीउ लगाएकामा सबै उम्रिएर झाँगिएको बताए । पहिलो पटक व्यावसायिकरूपमा लगाएको तरुल खेतीले आगामी हिउँदमा राम्रै प्रतिफल दिएमा क्षेत्रफल विस्तार गर्ने योजना रहेको उनले बताए ।

रातो तरुलको बिक्री सहज हुने पाइएपछि गाउँपालिकाले रातो तरुलको बीउ वितरण गरेको उनको भनाइ छ । यामका बेला रातो तरुलको रु ९० सम्ममा बिक्री भएको पाइएपछि कृषकलाई सेतोभन्दा रातो तरुल लगाउन आग्रह गरिएको हो । बाँझो जग्गामा एकपटक लगाएर छाडेपछि उत्पादन दिने भएकाले पनि यो खेती सहज हुने पालिकाले जनाएको छ ।

गाउँपालिकाभित्र बाँदर आतङ्क बढ्दै गएपछि विकल्पस्वरुप तरुलखेतीमा कृषकलाई आकर्षित गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले बताए । उनका अनुसार खाडल तयार पार्ने, प्राङ्गारिक मलको व्यवस्थापनलगायतका काम कृषकले गरेपछि करिब रु एक लाख २० हजारको लागतमा बीउ व्यवस्थापनको काम गाउँपालिकाले गरेको हो ।

गाउँपालिकाले आव २०७४/७५ देखि २०७७/७८ सम्म बाँदर छोप्ने विज्ञ भारतबाट ल्याएर झन्डै तीनरचार सयको हाराहारीमा बाँदर छोपेर चितवन राष्ट्रिय निकुञ्जमा समेत पुर्याइको थियो । जति गरे पनि बाँदरको सङ्ख्यामा कमी नआएपछि अहिले उक्त अभियान छाडिएको छ । बरु बाली नै परिवर्तन गर्नुपरेको अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए । बाँदरले तरुल खेतीमा कुनै असर गर्न नसक्ने भएकाले सोचेअनुसार प्रतिफल लिन सकिने उनको विश्वास छ । रासस

प्रतिक्रिया दिनुहोस्