वीपी प्रतिष्ठानका इन्टर्न डाक्टर काम छाडेर भत्ता वृद्धिको माग गर्दै आन्दोलनमा



काठमाडौँ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत इन्टर्न डाक्टर काम छाडेर भत्ता वृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । जीवन निर्वाह भत्ता वृद्धिको माग गर्दै आएका उनीहरूको माग प्रतिष्ठानले माग सम्बोधन नगरेपछि काम छाडेर आन्दोलनमा उत्रिएका हुन् । प्रतिष्ठानमा १३० जना इन्टर्न डाक्टर कार्यरत छन् । ती  डाक्टरहरूले साउन ३१ बाट डिउटी छाडेर आन्दोलनमा उत्रिएका  हुन् ।

प्रतिष्ठानले जीवन निर्वाह भत्ता बापत इन्टर्न गरिरहेका डाक्टरलाई मासिक १८ हजार ३ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।उक्त भत्ता ३ वर्षयता बढेको छैन । महंगी अनुसार न्यूनतम जीवन निर्वाह भत्ताको वृद्धिको मागसहित शान्तिपूर्ण आन्दोलन गर्दा सम्बोधन नभएपछि काम छाडेर आन्दोलनमा उत्रिन बाध्य भएको आन्दोलनरत चिकित्सकहरूको  भनाइ रहेको छ ।

प्रतिष्ठानले श्रम शोषण गरेको गुनासो गर्दै चिकित्सकहरूले  माग सम्बोधन नभएसम्म  काममा नफर्किने चेतावनी दिएका छन् । प्रतिष्ठानमा कार्यकारिणी समिति र सञ्चालक परिषद्को बैठकले तलब भत्ता वृद्धि गर्न सक्छ ।

२०७७ साल मङ्सिरमा प्रतिष्ठानको शिक्षक कर्मचारीको तलब वृद्धि गर्दा इन्टर्न डाक्टरहरुको पनि जीवन निर्वाह भत्ता वृद्धि गर्ने सम्झौता भएको थियो । सम्झौतापछि शिक्षक कर्मचारीको १५ प्रतिशत तलब भत्ता वृद्धि भए पनि इन्टर्न डाक्टरको जीवन निर्वाह भत्ता वृद्धि भएको  नभएको आन्दोलनरत चिकित्सकहरूको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्