कोशीका मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने 



काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन् ।सोमबार दिउँसो बसेको सत्ता गठबन्धनको बैठकले विश्वासको मत लिने निर्णय गरेको हो ।

मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिन चाहेका थिए, तर उपसभामुख सृजना दनुवारले सोमबार १ बजे समय तोकिदिइन् । तर प्रदेशसभाको बैठक बस्ने दिन बिहान उनी उपचारका लागि भन्दै काठमाडौँ आएपछि सत्ता गठबन्धन अलमलमा परेको थियो ।

उपसभामुख दनुवारले अध्यक्ष मण्डलमा रहेकी काँग्रेस प्रदेशसभा सदस्य इस्राइल मन्सुरीलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी दिएकी थिइन् । मन्सुरीले बैठकको अध्यक्षता गरेर मतदान नगर्दा मुख्यमन्त्री थापाले विश्वासको मत नपाउने भएकाले सत्ता गठबन्धन अलमलमा परेको थियो । सत्ता गठबन्धनसँग ४७ प्रदेशसभा सदस्य छन्, जुन ९३ सदस्यीय प्रदेशसभाको टुप्लुक्क बहुमत मात्र हो । तर उपसभामुखले आह्वान गरेको बैठकले अरूले स्थगित गर्न नमिल्ने भएकाले सोमबार नै विश्वासको मत लिने निर्णय सत्तारुढ दलको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्