जुवा तास खेलिरहेको अवस्थामा कोठाबाट १७ जना पक्राउ



काठमाडौँ । काठमाडौँमा कोठामा जुवा तास खेलिरहेको अवस्थामा चारजना पक्राउ परेका छन् । बुढानीलकण्ठ नगरपालिका-११ कपन डेरा गरी बस्ने सङ्खुवासभा मकालु गाउँपालिका-१ घर भएका ५२ वर्षीय पासाङ शेर्पाको कोठामा जुवा तास खेलिरहेको अवस्थामा शेर्पासहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १३ हजार ५ सय रुपैयाँ, १ लाख भारतीय रुपैयाँ, १ हजार १ सय अमेरिकी डलर र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यसै गरी काठमाडौँ, टोखा नगरपालिका-१ झोर बस्ने नुवाकोट शिवपुरी नगरपालिका-७ घर भएका ५६ वर्षीय एक राज कँडेलको टहरामा कौडा खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका-१ घर भएका ४४ वर्षीय रोशन ठकुरी समेत १३ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनीहरूलाई १६ थान कौडा र नगद ३ लाख २६ हजार रुपैयाँसहित पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्