अमेरिका एमसीसीका नाममा नेपाललाई उपनिवेश बनाउँदै : विप्लव



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अमेरिका नेपाललाई उपनिवेश बनाउनको लागि प्रयास गरिरहेको बताएका छन् । उनले अमेरिकाले नेपाललाई उपनिवेश बनाउन एमसीसीका नाममा गिद्धको रुपमा नेपाल आउन लागेको बताएका हुन् ।

मंगलबार रुपन्देहीको बुटवलमा समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले समाजवादी मोर्चाको लक्ष्य भ्रष्टाचार, कुशासन र विदेशी साम्राज्यवादका विरुद्ध लड्दै मुलुकलाई समाजवादतर्फ लैजाने गठन गरिएको बताउँदै यस्तो बताएका हुन् ।

उनले अमेरिकाले एमसीसीका नाममा नेपाललाई उपनिवेश बनाउने गम्भीर षड्यन्त्र गरेकाले एमसीसीविरुद्ध लड्ने घोषणा समेत गरे । उनले भने, ‘यहाँ भोलि गिद्धहरु ओर्लदैछन् । अमेरिका एमसीसीका नाममा सहयोग गर्न आउँछ भने स्वागत छ । ५ अरब होइन ५० खरब पनि लिन्छौ तर उपनिवेश बनाउने उद्देश्यका साथ, नेपालका नियम कानुन मिच्दै आउँछ भने हामी त्यसको विरोध गछौँ, लड्छौ ।

उनले एमसीसी र वीआरआइले निस्वार्थ सहयोग गर्दा कुनै आपत्ति नहुने भन्दै त्यस्तो सहयोगमा सहकार्य गर्न तयार रहेको बताए । उनले भने, ‘तर सहयोगका नाममा नेपालको स्रोत साधनको दोहन र अपहरण गर्न पाउँदैनौँ । अमेरिकाले एमसीसीबारे सरकारले पठाएको १२ बुँदे व्याख्यात्मक टिप्पणीको पनि अहिलेसम्म वास्ता गरेको छैन ।’

प्रतिक्रिया दिनुहोस्