ललिता निवास प्रकरण : संलग्न १७ जनाको बयान पुरा, आइतबारदेखि थुनछेक



काठमाडौँ । बालुवाटारस्थित ललिता निवास हिनामिनामा संलग्न १७ जना प्रतिवादीहरूको बयान लिइएको छ ।  एक जनाको बयान जारी रहेको जिल्ला अदालत काठमाडौँले जनाएको छ ।

न्यायाधीश भोलानाथ ढकालको इजलासमा शुक्रबार सम्मका १७ जना प्रतिवादीले बयान लिइएको हो । समरजंग कम्पनीका तत्कालीन कार्यालय प्रमुख लोकहरी घिमिरेको बयान जारी छ । बालुवाटारको जग्गा हिनामिनामा संलग्न आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले १८ जनालाई पक्राउ गरेको थियो ।

शुक्रबार घिमिरेको बयान सकिने जिल्ला अदालत काठमाडौँले जनाएको छ । भदौ ११ बाट थुनामा रहेको प्रतिवादीहरूको बयान सुरु भएको थियो । आइतबारदेखि सो मुद्दाको थुनछेक बहस सुरु हुन्छ ।

बालुवाटारस्थित ललिता निवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना  भएको सीआईबीको अनुसन्धान निष्कर्ष छ । जिल्ला सरकारी वकिल कार्यालयले २८९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सरकारी वकिलले जग्गा फिर्ता गर्ने प्रयोजनका लागि मृत्यु भएका २१ जनालाई पनि प्रतिवादी कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्