नेप्सेसँगै बढ्यो कारोबार रकम



काठमाडौँ । साताको दोस्रो कारोबार दिन सेयर बजार परिसूचक  नेप्से बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन १० अङ्क बढेर बन्द भएको नेप्सेले सोमबार सोही क्रमलाई निरन्तरता दिएको हो। सोमबार नेप्से परिसूचक ४४.३० अङ्क बढेर १९८६.९९ विन्दुमा पुगेको छ। त्यसै गरी, सोमबार सेन्सेटिभ इण्डेक्स ७.७३ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ३.१९ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८० अङ्क बढेको छ।

सोमबार  नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन १ अर्बको शेयर खरिदबिक्री भएको बजारमा सोमबार  २७८ स्टकको ३७ हजार ७९९ पटकको कारोबारमा १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ बराबरको ४७ लाख ४२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार  दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।  सोमबार थ्रीस्टार हाइड्रोपावर र मेन्छियाम हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, सोमबार मोलुङ हाइड्रोपावर र सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।  सोमबार  हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य सर्वाधिक ७.७२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा सोमबार साल्ट ट्रेडिङ्ग कर्पोरेशन शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको सोमबार ६२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने त्यस्तै, सोमबार एभरेष्ट बैंकको करिब ६ करोडको शेयर खरिदबिक्री भएको छ।

सोमबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल उपसमूहको परिसूचक सोमबार सर्वाधिक ३।४५ प्रतिशत बढेको छ। त्यस्तै, सोमबार जलविद्युत, विकास बैङ्क, उत्पादन तथा प्रशोधन, जीवन बिमा र निर्जिवन बिमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

प्रतिक्रिया दिनुहोस्