हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्था ठप्प



काठमाडौँ । हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्थाले आकस्मिक बाहेकका सबै सेवाहरू बन्द गरिएको छ । चिकित्सक कुटपिटको विरोधमा हेटौँडाका सरकारी तथा निजी स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सबै सेवा बन्द  गरेका हुन् ।

उपचार सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको भन्दै हेटौँडाका चिकित्सकहरूले अस्पताल तथा निजी क्लिनिकहरूको आकस्मिक बाहेक सबै सेवा बन्द  गरेका हुन् ।

बिरामीको उपचार गरिरहेका बेला हाई डिपेन्डेन्सी युनिट ९एचडीयू० मै चिकित्सकमाथि भएको आक्रमणले असुरक्षा बढेको भन्दै मकवानपुरका स्वास्थ्यकर्मी आन्दोलित बनेका हुन् । बुधवार बिहान हेटौँडा–१ भिन्तुनापथस्थित सन्चो अस्पतालमा चिकित्सकमाथि साङ्घातिक आक्रमण भएको थियो । आक्रमणमा परी एनेस्थेसिया डा प्रशान्त बिडारी र डा विकास थापा घाइते भएका छन् । बिडारीको आँखा र अनुहारमा चोट लागेको छ भने थापाको गाला र अनुहार सुन्निएको छ ।

एक महिनाअघि मृत्यु भएका हेटौँडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्र प्रवेश गरी बुधवार डाक्टरमाथि कुटपिट गरेका हुन् । घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतक प्रधानकी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिज अनुप प्रधान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्