सामान्य अङ्कले बढेर बन्द भयो नेप्से 



काठमाडौँ । साताको  पहिलो दिन भारी अङ्कले ओरालो लागेको सेयर बजार परिसूचक नेप्से  कारोबारको दोस्रो दिन सामान्य अङ्कले उकालो लागेको छ । सोमबार नेप्से ५.१९ अङ्कले उकालो लागेको हो । नेप्से सोमबार उकालो लागेसँगै १९७६.२९ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०.६६ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स ०.३८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अङ्क बढेको छ।

नेप्से बढे पनि कारोबार रकम सामान्य घटेको छ। २८६ स्टकको ८५ हजार ५९१ पटकको कारोबारमा १ अर्ब ७३ करोड ७३ लाख रुपैयाँ बराबरको ५७ लाख ७६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।सोमबार १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ।  विकास बैङ्क उपसमूहको परिसूचक सर्वाधिक १।३३ प्रतिशत बढेको छ। त्यसै गरी,  म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशत बढेको छ।  होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक घटेको छ।

सोमबार दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिवाईसी लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसै गरी, इन्फिनिटी लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको पिपुल्स हाइड्रोपावर र मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको सेयर मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा सोमबार एनआईसी एशिया शीर्ष स्थानमा रहेको छ। सो बैङ्कको सोमबार २१ करोड ६८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। बैङ्कको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन भएका कारण शेयर कारोबार बढेको हो। त्यसै गरी,  सिटिजन लाइफ इन्स्योरेन्सको करिब १३ करोडको शेयर खरिदबिक्री भएको छ।

प्रतिक्रिया दिनुहोस्