भारतीय प्रधानमन्त्रीको गुन्जी भ्रमणबारे जानकारी गराउन माग 



काठमाडौँ । प्रतिपक्ष दल रास्वपा सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि गुञ्जी भ्रमण गर्दा सरकारलाई जानकारी नगराएको भन्दै प्रश्न गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले सरकारले सो विषयमा जानकारी गराउनुपर्ने भन्दै प्रश्न गरेका हुन् ।

लामिछानेले भने, ‘हामीलाई समाचारबाट र आधिकारिक निकायबाट के थाहा हुन आयो भने, हाम्रो मित्र राष्ट्रका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हाम्रो भूभागमा आउनुभएको रहेछ। मित्र राष्ट्रको प्रधानमन्त्री हाम्रो देशमा आउँदा सरकारले न कुनै स्वागत गरेको छ, न देशलाई कुनै जानकारी गराएको छ । यत्रो ठुलो भ्रमण हाम्रो देशमा । यो कुटी, गुञ्जी नेपालमै पर्छ। हामीले नै पास गरेको चुच्चे नक्सा भित्र पर्छ त्यस भूभागभित्र गुञ्जी पनि पर्छ।’ उनले सो क्षेत्र नेपाली भूमि रहेको र नेपालको चुच्चे नक्सामा समेत समेटिएको उल्लेख गर्दै नेपाली भूमिमा भारतीय प्रधानमन्त्रीको भ्रमणको बारेमा सरकारले स्पष्ट पार्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्