पर्यटक आगमनमा रेकर्ड ब्रेक, कुन देशबाट कति आए ?



काठमाडौँ । नेपालमा आउने पर्यटक आगमनले  रेकर्ड ब्रेक गरेको छ । सन् २०२३ को अक्टोबरमा मात्रै १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएका हुन् । यो एक महिनामा नेपाल भित्रिएका पर्यटकको इतिहासमै कीर्तिमानी सङ्ख्या हो । अक्टोबर २०१९ मा आएको १ लाख १३ हजार सङ्ख्या एक महिनामा आएका पर्यटकको सबैभन्दा ठुलो सङ्ख्या थियो । यो रेकर्ड यस वर्ष तोडिएको हो ।

अक्टोबर महिनामा गैर आवासीय नेपालीको जमघट नेपालमा हुन्छ । उनीहरू समेत नेपाल आउँदा पर्यटकका रूपमा गणना हुन्छ । यो सम्मेलनको प्रभाव समेत यस महिनामा परेको देखिन्छ । भारत, बङ्गलादेश, चीन, श्रीलङ्कासहितका मुलुकबाट आउने सबैजसो पर्यटक नै भए पनि अमेरिका र युरोपबाट आएकाहरूमा गैर आवासीय नेपालीको समेत सङ्ख्या उल्लेख्य रहने गर्छ ।

नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबर २०२२ मा ५२ हजार १२१, २०२१ मा १५ हजार ७१५ र सन् २०२० मा १ हजार ८३१ जना पर्यटक नेपाल आएका थिए । यस महिनामा सबैभन्दा धेरै भारतबाट १८ हजार ४८० जना पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा अमेरिकी छन् । अमेरिकाबाट १४ हजार ८७९ जना पर्यटक नेपाल आएको तथ्याङ्क छ । तेस्रो स्थानमा बेलायती छन् । यस मुलुकबाट ८ हजार २१७ जना पर्यटक नेपाल आएका छन् । चीनबाट ६ हजार ८८०, अस्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट ५ हजार ९१६, फ्रान्सबाट ५ हजार २७१, बङ्गलादेशबाट ४ हजार २९२, श्रीलङ्काबाट २ हजार ५०७ र इटालीबाट २ हजार ४६७ जना पर्यटक नेपाल आएका छन् ।

प्रतिक्रिया दिनुहोस्