१० वर्षपछि विश्वकप खेल्ने सपनाका खातिर युएईलाई जित्न पर्ने दबाबमा नेपाल 



cricket

काठमाडौँ । नेपाली क्रिकेट टिमले शुक्रवार युएईसँग खेल खेल्दै छ । यो खेल जिते नेपाल टी-२० विश्वकपमा पुग्नेछ भने पराजित भए १० वर्षपछि विश्वकप खेल्ने सपना फेरि अधुरै रहनेछ । घरेलु मैदानमा भइरहेको आइसिसी टी-२० विश्वकप एसिया छनोटमा समूह चरणको अन्तिम खेलमा  नेपाल ओमानसँग ५ रनले पराजित भएपछि सेमिफाइनलमा युएईसँग खेल्नुपरेको हो ।

समूह ‘ए’ मा ओमान सबै ३ खेल जितेर विजेता बन्दा नेपाल दुई जित र एक हारको नतिजा सहित समूह उपविजेता बनेको हो । उता युएई समूह ‘बी’ का तीन वटै खेल जितेर समूह विजेता बन्यो ।

अझ नेपालले सेमिफाइनल खेल मुलपानी क्रिकेट मैदानमा खेल्नुपर्ने भयो । ओमान र बहराइन बीचको सेमिफाइनल भने टीयू मैदानमा हुनेछ ।

नेपाल र युएईबिच पछिल्ला दुई वर्षभित्र धेरै महत्त्वपूर्ण प्रतियोगितामा निर्णायक खेलमा भिडेका छन् । २१ महिनाअघि ओमानको मस्कटमा नेपाल र युएईबिच टी-२० विश्वकप छनोटको सेमिफाइनमा भेट हुँदा युएईले बाजी मार्दै विश्वकपमा छनोट भएको थियो । ८ महिनाअघि नेपालले कीर्तिपुरमा युएईलाई विश्वकप लिग टु को खेलमा हराएर विश्वकप छनोटमा पुगेको थियो । त्यसपछि ६ महिनाअघि टीयू मैदानमै नेपालले युएईलाई एसीसी प्रिमियर कप फाइनलमा हराएर एसिया कप खेल्यो ।

अब एउटा अर्को महत्त्वपूर्ण खेलको नजिक आइपुगेको छ । यहाँबाट एक टिमले मात्र अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी-२० विश्वकपको टिकट काट्नेछ । त्यसैले दुवै टोलीलाई यो खेलको उत्तिकै महत्त्व छ ।

विजयी हुने टिम टी-२० विश्वकप एसिया छनोटको फाइनल पुग्दै टी९२० विश्वकपमा पनि छनोट हुनेछ । पराजित हुने टिमले विश्वकप पुग्दा केही वर्ष पर्खनुपर्नेछ । डेढ वर्षअघि ओमानमा भएको टी९२० विश्वकप ग्लोबल क्वालिफायरको निर्णायक सेमिफाइनलमा पनि नेपाल युएईसँग नै पराजित हुँदा विश्वकप पुग्नबाट चुकेको थियो ।

प्रतिक्रिया दिनुहोस्