भारतद्वारा भूकम्प पीडितलाई तेस्रो चरणको राहत सामग्री सहयोग



काठमाडौँ । भारतबाट नेपालका भूकम्प पीडितका लागि तेस्रो चरणको राहत सामाग्री नेपाल आइपुगेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धतालाई कार्यान्वयन गर्दै भारतीय वायुसेनाको सी–१३० नामक विशेष विमान कार्तिक २३ गते भूकम्प पीडितका लागि तेस्रो चरणको १२ टनभन्दा बढी राहत सामग्री लिएर नेपाल आइपुगेको हो। राहत सामग्रीमा कम्बल, स्लीपिङ्ग ब्याग, त्रिपाल, अत्यावश्यक चिकित्सा सामग्री रहेका छन् ।

पहिलो रेस्पोन्डरको रुपमा भारतले नेपालका भूकम्प प्रभावित परिवारका लागि भारतीय वायुसेनाको विशेष विमानका तीन वटा फ्लाइटमार्फत ३३ टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको थियो । भूकम्प प्रभावित परिवारका अत्यावश्यक आवश्यकताहरू पुरा गर्न यस राहत सामग्रीमा त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लीपिङ्ग ब्याग, अत्यावश्यक औषधी र चिकित्सा उपकरण जस्तै शल्यचिकित्सा सम्बन्धी उपकरण, पोर्टेबल भेन्टिलेटर तथा सरसफाइ सामग्री समावेश थिए ।

नेपाल भारतको घनिष्ठ मित्र एवम् छिमेकी भएकोले नेपाललाई सहयोग गर्न भारत प्रतिबद्ध रहेको कुरा भारतले भूकम्प लगत्तै नेपाललाई सहयोग गर्न देखाएको तत्परताले पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्