काठमाडौँमा राति १ बजेसम्म ‘देउसी भैलो’ खेल्ने पाइने 



देउसी भैलो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहारमा देउसी भैलो खेल्ने समय बढाएको छ । महानगरपालिकाभित्र रातको १ बजेसम्म देउसी भैलो खेल्ने पाउने भएको छ । यसअघि कोभिड तथा सुरक्षाका कारण तिहारमा राति ९ बजेसम्म देउसी भैलो खेल्न अनुमति दिइएको थियो । यो वर्ष महानगरको नगर प्रहरीले राति १ बजेसम्म सुरक्षाका लागि पेट्रोलिङको व्यवस्था मिलाएको काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जनाकारी गराएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत राति १ बजेसम्म मर्यादित तरिकाले देउसी भैलो खेल्न आग्रह गरेका छन् । साथै उक्त समयसम्म नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन अनुरोध पनि उनले गरेका छन् ।

बालेनले लेखेका छन्,‘विगतका वर्षहरूमा कोभिडका कारण तथा सुरक्षाका कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौँ महानगरभित्र राति ९ बजेसम्म मात्र अनुमति दिइएको थियो । यो वर्ष काठमाडौँ महानगर नगर प्रहरीले ‘राति १’ बजेसम्म सुरक्षाका लागि पेट्रोलिङको व्यवस्था मिलाएको छौँ र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिनु हार्दिक अनुरोध गर्दछौँ । सोही अनुरूप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्