रविराज शाहका छठका दुई गीत बजारमा



रविराज शाह

काठमाडौँ । नेपालकै पहिलो रियालिटी शो नेपाल लोकस्टारमा शानदार प्रस्तुति दिएर  उदाएका मधेशका चर्चित र लोकप्रिय लोक गायक रविराज शाहका छठका दुई गीत सार्वजनिक भएको छ ।

मधेशी समुदायको महान् पर्व छठको पूर्व सन्ध्यामा गायक शाहले छठको दुईवटा मन छुने गीत सार्वजनिक गरेका हुन् । ‘कवना घाटे’ र ‘हे छठी मैयाँ ‘ मक दुई गीत शाहकै आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

दुवै गीतमा सङ्गीत पनि शाह आफैले भरेका छन् । दुई गीतमध्ये कवना घाटे गीत उमालाल यादवले लेखेका छन् । यसमा रविराज शाह, अश्विनी शाही, सदाम हुसेन, अनिता यादव लगायतको अभिनय छ ।

यस्तै, हे छठी मइया गीत नरेन्द्र साहले लेखेका छन् । यसमा रविराज शाह, अश्विनी शाही, सरोज शाह, अनिता यादव, जयन्ती यादव, सरीता यादव लगायतको अभिनय रहेको छ । दुबैमा भिडियो निर्देशन भने सदाम हुसेन अन्सारीले गरेका छन् । गीतमा छठको महत्त्व र विधि–विधानलाई सरल शब्दमा बखान गरिएको छ ।

बजारमा जथाभाबी उत्पादन हुने झुर गीतहरूका कारण लोकास्थाका पर्वहरूको महत्त्व ओझेलमा परिरहँदा यो गीतले भने पौराणिकता र मौलिकता महसुस गराउँछ । यसले नयाँ पुस्तालाई छठ पर्वप्रति अझ अपनत्व आभास गराउने, आस्थवान अनि जानकार बनाउने प्रतिक्रिया श्रोताहरूको रहेको छ । विश्व चर्चित गायक उदितनारायण झाको झल्को दिने रविराजको मिठा स्वरका गीतले श्रोताहरूलाई त्यसै पनि कायल बनाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्