स्थानीय साझेदार संस्था छनोटमा डब्ल्यु एच एचको धाँधली



whh

काठमाडौँ । बेल्ट हंगर हाइफ नामक जर्मन गैर सरकारी संस्थाले स्थानीय साझेदार संस्था छनोटमा धाँधली गरेको छ । सुदूरपश्चिम प्रदेशको अछाममा सञ्चालन गर्न लागेको पोषण सुरक्षा प्रवर्द्धनका लागि जलवायु स्मार्ट कृषि प्रणालीमा महिला कार्यक्रमका लागि साझेदार संस्था छनोटमा धाँधली भएको बताइएको छ । सूचना निकालेर साझेदार बन्न आह्वान गरिए तापनि सूचनामा उल्लेख मापदण्ड मिचेर संस्था छनोट गरिएको पाइएको छ ।

छनौट गर्दा स्थानीय साझेदार संस्थाहरूको विषयगत अनुभव, आयोजना व्यवस्थापकीय क्षमता, आर्थिक व्यवस्थापन, सञ्चालन सम्बन्धी नीति, निर्देशिकाहरूको आधारमा प्रतिस्पर्धाको माध्यमबाट हुनुपर्नेमा त्यसको बेवास्ता गर्दै व्यक्तिगत स्वार्थ, आर्थिक लेनदेन तथा राजनैतिक पूर्वाग्रहको आधारमा छनौट गरिएको आरोप लागेको हो । स्थानीय संस्था भनिए तापनि एउटा अर्को जिल्लाको संस्था छनोटमा पर्नुले शङ्का उत्पन्न गराएको हो । छनोटमा परेका तीन संस्था मध्य सम विकास केन्द्र र डब्ल्यु एसी नेपाल अछामकै स्थानीय हुन् भने पिस उइन बाजुरा केन्द्रित संस्था हो ।

प्रकाशित भएको सूचनामा स्थानीय दुई संस्था छनोट गर्ने भनिएको थियो । संस्था छनोटमा धाँधली भएको भन्दै केही स्थानीय संस्थाहरूले छनोट प्रक्रियाको उच्च निकायबाट अनुगमन गरी पुन मूल्याङ्कन गर्न माग गरेका छन् । बेल्ट हंगर हाइफका कर्मचारीले पूर्वाग्रही, आर्थिक लेनदेन तथा व्यक्तिगत दुराग्रह राखी संस्थाहरू छनौट गरेको उनीहरूको आरोप छ । यस्ता संस्थाहरूलाई समाज कल्याण परिषद्ले समेत अनुगमन गर्नुपर्ने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्