११ लाख बालबालिकाको विवरण चोरी गरेको भन्दै फेसबुकविरुद्ध उजुरी



facebook meta

 काठमाडौँ । फेसबुक सञ्चालक संस्था मेटा इन्कमाथि अभिभावकको स्वीकृतिबिना १३ वर्षमुनिका ११ लाख बालबालिकाको तथ्याङ्क चोरी गरेको आरोप लागेको छ ।  न्यूयोर्क टाइम्सका अनुसार ३३ अमेरिकी राज्यका महान्यायाधिवक्ताहरूको समूहले सङ्घीय अदालतमा दायर गरेको मुद्दामा मेटाले सन् २०१९ देखि गोप्य रूपमा १३ वर्ष मुनिका बालबालिकाको डाटा सङ्कलन गरिरहेको आरोप लगाएका छन् ।

यस अवधिमा मेटाले करिब ११ लाख बालबालिकाको स्थान, इमेल, च्याट, फोटो र अन्य जानकारी सङ्कलन गरी बजारमा आफ्नो फाइदामा प्रयोग गरेको उनीहरूको दाबी रहेको छ । उजुरीमा लाखौँ किशोर किशोरीको व्यक्तिगत विवरण मेटाका लागि ‘ओपन सेक्रेट’ जस्तै भएको उल्लेख गरिएको छ।

मेटाले गोपनीयता कानुनको उल्लङ्घन गरेको आरोप उजुरीमा जिकिर गरेको छ । यो आरोप प्रमाणित भएमा मेटाले लाखौँ डलर वा सोभन्दा बढी जरिवाना तिर्नुपर्ने हुनसक्छ ।

मार्क जुकरबर्गको स्वामित्वमा रहेको यस कम्पनी विरुद्ध गत महिना क्यालिफोर्निया, न्यूयोर्क, कोलोराडो जस्ता राज्यहरूले क्यालिफोर्नियाको उत्तरी जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

उजुरीमा मेटाले नियतवश यस्ता सुविधाहरू सिर्जना गरेको जसले बालबालिकाहरूमा लाइकको लत लाग्ने आरोप लगाइएको थियो । यद्यपि मेटाले आफ्नो प्लेटफर्म सुरक्षित रहेको दाबी गर्दै राज्यहरूले अदालतको बाटो रोज्नु निराशाजनक रहेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्