भारतलाई एक खेल अगावै अष्ट्रेलियासँगको सिरिज उपाधि



एजेन्सी । भारतले चौथो टि२० आई खेलमा अष्ट्रेलियालाई २० रनले हराउँदै एक खेल अगावै सिरिज उपाधि जितेको छ । पाँच खेलको सिरिजमा भारत ३-१ ले अघि हुँदै खेल खेल अगावै सिरिज जितेको हो ।

जितको लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५५ रन बनायो । अष्ट्रेलियाका कप्तान म्याथ्यु वेड २३ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३६ रनमा नट आउट रहे ।

अष्ट्रेलियालाई ओपनर ट्रविस हेडले १६ बलमा ५ चौका र १ छक्कासहित ३१ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । हेड बाहेक अन्य कुनैपनि ब्याटरले आक्रामक ब्याटिङ गर्न सकेनन् । जोश फिलिपे ८, बेन म्याकमरमोट र टिम डेविड १९-१९ रनमा आउट भए । म्याथ्यस सर्ट १९ बलमा २ चौका र १ छक्कासहित १८ रनमा आउट भए ।

भारतका स्पिनर अक्षर पटेलले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । दीपक चाहरले ४ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । रवि विश्रोई र आवेश खानले १-१ विकेट लिए ।

त्यसअघि रैपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो । भारतको जितमा रिंकु सिंहले २९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए । जितेश शर्माले १९ बलमा १ चौका र ३ छक्कासहित ३५ रनमा आउट भए ।

भारतलाई ओपनर यशस्वी जैसवाल र ऋतुराज गायकवाडले ६ ओभरमा ५० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । जैसवाल २८ बलमा ६ चौका र १ छक्कासहित ३७ रनमा आउट भए । ऋतुराज २८ बलमा ३ चौका र १ छक्कासहित ३२, श्रेयस ऐर ८, सूर्यकुमार यादव १, अक्षर पटेल शून्य र दीपक चाहर दुबै शून्यमा आउट भए ।

अष्ट्रेलियाका तीव्र गतिका बलर बेन ड्वाशिुसले ४ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । जेसन बेहरनडोर्फले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । तनवीर संघाले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए ।

भारत पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले विजयी भएको थियो । अष्ट्रेलिया तेस्रो खेलमा ५ विकेटले विजयी भएको थियो । पाँचौं तथा अन्तिम खेल आइतबार बेंगलोरमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्