म लक्की छु, गठबन्धन टुट्ने वाला छैन : प्रचण्ड



prachand

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार सङ्कटमा नरहेको बताएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार सम्पादकहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले आफू संसद्मा ३२ सिट रहेको तेस्रो दलको नेता भए पनि सरकार सङ्कटमा नरहेको बताएका हुन् ।

उनले भने, ‘मलाई थाहा छ मेरो ससंदमा ३२ सिट छ र म शक्तिशाली पनि छैन । तर पनि म लक्की छु, किनकी यो गठबन्धन तत्काल टुट्नेवाला छैन ।’ २०७९ मङ्सिरमा सम्पन्न निर्वाचन पछि १० पुसमा नेकपा एमालेसहितको दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले करिब दुई महिनापछि राष्ट्रपति निर्वाचनका बेला नेपाली काँग्रेसलाई साथ दिएपछि एमालेसँगको सम्बन्ध टुटेको थियो । आफू नेतृत्वको सरकारले करिब एक वर्ष पूरा गर्न लाग्दा उनी सरकार तलमाथि नहुनेमा निश्चिन्त देखिए ।

गठबन्धन भित्र कतिपय मामिलामा विवाद, असहमति देखिए पनि तिनले सरकारको भविष्यमाथि कुनै प्रभाव नपार्ने प्रधानमन्त्री प्रचण्डको भनाइ रहेको छ । उनले भने, ‘तपाईँहरूले गठबन्धनभित्र पनि कतिपय अन्तर्विरोध देख्नु, सुन्नु भएको होला तर ती सरकारको भविष्यलाई प्रभाव पार्ने स्तरमा छैनन् ।’

प्रतिक्रिया दिनुहोस्