अर्शदीप र आवेशको उत्कृष्ट बलिङमा भारतको सहज जित



काठमाडौँ । तीव्र गतिका बलर अर्शदीप सिंह र आवेश खानको उत्कृष्ट बलिङमा भारतले पहिलो ओडिआई खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई ८ विकेटले हराएको छ । योसँगै तीन खेलको सिरिजमा भारतले १-० को अग्रता लिएकोछ ।

जितको लागि १ सय १७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले १६।४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा डेब्यू खेल खेलेका साई सुदर्शन ४३ बलमा ९ चौकासहित ५५ रनमा नट आउट रहे ।

श्रेयस ऐर ४५ बलमा ६ चौका र १ छक्कासहित ५२ र ऋतुराज गायकवाड ५ रनमा आउट भए । दक्षिण अफ्रिकाका विवान मुल्डार र एन्डिले फेहलुकवायोले १-१ विकेट लिए ।

त्यसअघि जोहानेसबर्गमा टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिका २७।३ ओभरमा १ सय १६ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिकाका एन्डिले फेहलुकवायो ४९ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ३३ रन बनाए । टोनी डी जोर्जी २२ बलमा २ चौका र २ छक्कासहित २८ तथा एडेन माक्ररम १२ रनमा आउट भए ।

ओपनर रिजा हेन्ड्रिक्स, रास्सी भान डर डुसेन र विवान मुल्डेर शून्यमा आउट भए । डेविड मिलर २ रनमा आउट भएका थिए । भारतका तीव्र गतिका बलर अर्शदीप सिंहले १० ओभरमा ३७ रन खर्चेर ५ विकेट लिए । ओडिआईमा अर्शदीपले पहिलो पटक पाँच विकेट लिएका हुन् ।

आवेश खानले ८ ओभरमा ३ मेडनसहित २७ रन खर्चेर ४ विकेट लिए । दोस्रो खेल मंगलबार र तेस्रो खेल बिहीबार हुनेछ । तीन खेलको टि२० आई सिरिज १९१ को बराबरीमा सकिएको थियो । त्यसपछि दुई खेलको टेस्ट सिरिज हुनेछ ।. एजेन्सी

प्रतिक्रिया दिनुहोस्