एकै रातमा तीन वटा सुन पसलमा चोरी 



काठमाडौँ । मोरङको बेलबारीमा एकै रातमा तीन वटा सुन पसलमा चोरी भएको छ । मङ्गलवार राति बेलबारी नगरपालिका– १ मा रहेका तीन वटा सुनपसलमा चोरी भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीकाका अनुसार  पसल फोडेर चोरी भएको हो । चोरीमा संलग्नको खोजी कार्य जारी रहेको छ ।

बेलबारी–१ स्थित नेत्रप्रसाद दाहालको घरमा डेरा गरेर बस्ने छत्रबहादुर विकले सञ्चालन गरेको न्यु बराइली ज्वेलर्स एण्ड कारखाना, ईश्वरी चौलागाईंको घरमा डेरा बस्ने रत्नमाया सुनार र किरण सुनारले सञ्चालन गरेको नवरत्न ज्वेलर्स र कुलबहादुर दर्नालले सञ्चालन गरेको न्यु वराह ज्वेलरीमा एकै रात चोरी भएको हो । न्यु बराइली ज्वेलर्सबाट चाँदीको बुटी १०० वटा (अन्दाजी २५ तोला), तामाको बुटी १०० वटा (अन्दाजी ३ सय ग्राम)र ४ आनाको सुनको पोते चोरी भएको छ ।

नवरत्न ज्वेलर्सबाट करिब एक किलो बराबरको सुन र चाँदीका सामग्री तथा गहना चोरी भएको छ । ज्वलेर्सबाट ४ आनाको सुनको जन्तर, १ तोला ५ आना काँचो सुन तथा चाँदीका सिक्री, ब्रासलेट, पाउजू, औँठी, बुटिकका सामग्री, करुवा, दियो, चम्चा, चुरा, कल्लीसमेत चोरी भएको छ ।

कुलबहादुर दर्नालले सञ्चालन गरेको न्यु वराह ज्वेलरीबाट ११ किलो बराबरको चाँदीबाट बनेका गहना र सामग्री चोरी भएको छ । चाँदीबाट बनेको खड्कुँलो, करुवा, गाग्री, थाली, बटुका, चुरा, पाउजू, कल्ली, कम्मर बेल्ट, औँठी, बिच्छी, लकेट, ब्रासलेटलगायत चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा एउटै समूहले चोरी गरेजस्तो देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्