मन्त्री प्रकाश ज्वाला बालकुमारीको बाटो हुँदै गएपछि घटना भएको थियो



बसन्तबहादुर कुँवर

काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला बालकुमारीको बाटो हुँदै यात्रा गर्दा प्रदर्शनकारी उग्र बनेको र दुई जनाको ज्यान जाने गरी घटना भएको बताएका छन् ।

राज्य व्यवस्था समितिको बैठकमा बालकुमारी घटनाबारे जानकारी दिँदै महानिरीक्षक कुँवरले बालकुमारीमा मन्त्रीको गाडी नगएको भए त्यो हदसम्मको घटना नहुने बताएका हुन् ।

ईपीएस भाषा परीक्षार्थीहरूले गरेको प्रदर्शनमा पुस १३ गते बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको थियो । सोही घटनामा दुई जना प्रदर्शनकारीको मृत्यु भएको थियो । एक जनाको प्रहरीको गोलीबाट मृत्यु भएको थियो ।

अर्को एक जना मृतकको छातीमा बन्दुकको कुन्दाले हानेको जस्तो देखिने डाम थियो । घटनाबारे संसदीय समितिलाई जानकारी गराउँदै महानिरीक्षक कुँवरले भने, ‘मन्त्रीको गाडी नआएको भए यस्तो घटना हुने थिएन ।’ मन्त्रीलाई सुरक्षित राख्न बल प्रयोग गर्नु परेको उनको भनाइ रहेको छ ।

उनीहरूसँगको झडपमा परी ८ जना प्रहरी घाइते भएको उनले बताए । रबरको गोली, हवाई फायर र अश्रुग्याँस प्रहार गरेको उनले बताए । प्रदर्शन रोक्ने क्रममा साढे ११ बजे सामान्य बल प्रयोग भएको, ११ः५२ मा मन्त्री ज्वाला चढेको गाडी कोटेश्वरतर्फ जाँदै गर्दा बालकुमारीमा आइपुगेको र त्यो बेलामा पीएसओले फिल्डमा रहेका प्रहरीहरूसँग समन्वय नगरेको महानिरीक्षक कुँवरले बताए । ११ः५४ मा हातपात हुने अवस्था आएपछि पिएसओले मन्त्रीलाई सुरक्षित स्थानमा लगेको र १२ बजे मन्त्रीको गाडीमा आगजनी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्