उमेर नमिल्दा बालगृहमा झडप



काठमाडौँ । डेढ वर्षभित्र विभिन्न छ वटा बाल सुधार गृहमा झडप भएका छन् । भक्तपुरमा सुधार गृह नै तोडेर बालबालिका भागेका थिए । क्षमताभन्दा बढी बालबन्दी राखिएकाले अधिकांश बालगृहमा झडप हुने गरेको पाइएको छ ।

देशका नौ वटा बाल सुधार गृहको क्षमता ५७५ भए पनि ती गृहमा एक हजार १६० बालबालिका छन् । बाल सुधार गृहमा लगातार झडप हुन थालेको १८ महिना पुग्यो । २०७९ असार ६ गते रुपन्देहीको बाल सुधार गृहमा झडप भएपछि समस्या सुरु भएको हो ।

नौ वटामध्ये पाँच वटा सुधार गृह सरकारले प्रत्यक्ष रूपमा सञ्चालन गरेको छ भने चार वटा सुधार गृह युसेप नेपाल नामक गैरसरकारी संस्थाले सञ्चालन गर्दै आएको छ । नेपालगन्ज, डोटी, पर्सा, मकवानपुर, रुपन्देहीमा सरकारले र भक्तपुर, नेपालगन्ज, विराटनगर, पोखरामा युसेपले बाल सुधार गृह सञ्चालन गरिरहेको छ । आपराधिक कार्य वा बालबिज्याइँमा संलग्न बालबालिकालाई अदालतको फैसलाका आधारमा बालबन्दीका रूपमा यस्ता गृहमा राख्ने गरिएको छ ।

बाँकेको सुधार गृहमा २०७९ पुस १४ गते कैदीबन्दी झ्यालको भेन्टिलेसन तोडेर भागेका थिए । यही पुस १५ गते बाँकेकै क्षेत्रीय कारागारमा सञ्चालित बाल सुधार गृहमा बालबन्दीबिच विवादपछिको झडपमा एक जना घाइते भएका थिए । गत भदौ २६ गते पर्साको वीरगन्जस्थित बाल सुधार गृहमा दुई समूहबिच झडप हुँदा स्थिति नियन्त्रणबाहिर गएको थियो । वीरगन्जको यो तनाव भक्तपुरको सानोठिमीस्थित सुधार गृहमा भएको झडपको घटनासँग जोडिएको थियो ।

रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको मृत्यु रहस्यमय भएको भन्दै कैदीबन्दीले भदौ ३ गते बाल सुधार गृहभित्र नाराबाजी र तोडफोड गरेका थिए । तत्कालै १६ जनालाई बाँके र १९ जनालाई भक्तपुरको सुधार गृहमा स्थानान्तरण गरियो । बालबन्दीको आचरण, बानी तथा व्यवहार सुधार्दै शिक्षालगायतको सुविधा उपलब्ध गराउनुपर्नेमा एक वा दुई जना मात्र शिक्षक व्यवस्थापन हुँदा बालबालिकाका सिकाइमा समस्या देखिएको छ ।

तत्कालीन केन्द्रीय बाल कल्याण समितिको प्रतिवेदनमा अदालतबाट दोषी ठहर भएका तथा नभएका र सबै उमेर समूहकालाई एकै ठाउँमा राख्दा समस्या रहेको उल्लेख छ । बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले न्यूनतम आवश्यकता पूरा गराउन नसक्दा र क्षमताभन्दा धेरै बालबालिकालाई सुधार गृहमा राख्दा झडपलगायतका समस्या बढिरहेको बताउनुभयो । युसेप नेपालका निर्देशक केशव सुवालले ३० वर्षसम्मका युवालाई सुधार गृहमा राख्नु पर्दा समस्या बढिरहेको उल्लेख गर्नुभयो । उहाँले नेपालका सुधार गृहमा राखिएकामध्ये ४५ प्रतिशतको उमेर १८ वर्षभन्दा माथि भएकाले बाल सुधार गृहमा झडप हुने गरेको दाबी गर्नुभयो ।

नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बालबन्दीलाई सुधार्नका लागि सुधार गृहमा राखिए पनि उमेर बढ्दै गएपछि उनीहरूबिच गुट उपगुट बनाउने कार्य विस्तार भएर झडपको स्थिति सिर्जना भएको जानकारी दिनुभयो । मानव अधिकारकर्मी भोजराज तिमल्सिनाले बाल सुधार गृहमा अनेकौँ समस्या रहेको उल्लेख गर्दै भन्नुभयो, “अस्वस्थ खाना र बसाइ सबै सुधार केन्द्रका प्रमुख समस्या हुन् ।”

भदौमा भक्तपुरमा भएको झडपपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले गरेको स्थलगत अध्ययन प्रतिवेदनमा पनि १९ वर्ष उमेर नाघेकालाई सुधार गृहमा बालबालिकासँग नराख्ने व्यवस्था गर्नु जरुरी देखिएको औँल्याएको थियो । आजको गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्