चितवनमा बोराभित्र भेटिएका दुवै शवको पहिचान खुल्यो



काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका वडा नं.१२ स्थित मिलनचोकमा गत मङ्सिर ६ गते बोराभित्र भेटिएका दुई वटा शवको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हत्या गरेर बोरामा शव पोको पारेर फालिएका पुरुष र महिला दुवै भारतीय नागरिक रहेका छन् । उनीहरूको हत्या पनि भारतीय नागरिकले नै गरेको प्रहरीले जनाएको छ ।

चितवनको भरतपुरमा व्यापार गरेर बस्ने उनीहरूको हात, खुट्टा र घाँटी डोरीले बाँधेर हत्या गरेर कल्भर्ट मुनि फालिएको पाइएको प्रहरीले जनाएको छ । शवको पहिचान लामो समयसम्म नभएपछि प्रहरीले पहिलो पटक हुलिया र दोस्रो पटक उनीहरूको स्केच नै सार्वजनिक गरेको थियो ।

घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीको विशेष टोली नै लामो समयदेखि भरतपुरमा बस्दै आएको छ । उनीहरूले भारतीय प्रहरीसँग समन्वय पनि गर्दै आएका छन् ।

शवको ३ हप्ता अघि नै पहिचान खुले पनि प्रहरीले हत्यारा पक्राउ नपरेका कारणले सार्वजनिक गरेको थिएन । अहिले हत्यारालाई भारतबाट नै पक्राउ गरिएको प्रहरीले जनाएको छ । ती शवहरू भरतपुर अस्पतालको शव गृहमा राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्