राजधानीकै राजमार्गका पुल अलपत्र



काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँमा पर्ने दुई राजमार्गका पुल अलपत्र परेको धेरै भयो । अझै निर्माणको सुरसार छैन । त्रिभुवन राजपथ (शून्य विन्दु त्रिपुरेश्वर रहेको एनएच–२८) अन्तर्गतको टेकु र कालीमाटीबिचको विष्णुमतीमाथिको पुल र अरनिको राजमार्ग (शून्य विन्दु माइतीघर रहेको एनएच–३४) अन्तर्गत शान्तिनगर र तीनकुनेबिचमा पर्ने बागमती नदीमाथिको पुल अलपत्र छन् ।

यी दुई राजमार्ग भएर दैनिक ठुलो परिमाणमा सवारीसाधन आवागमन गर्छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार त्रिभुवन राजपथ भएर राजधानीको मध्य तथा पश्चिमी क्षेत्रबाट दैनिक साना ठुला गरी तीन हजार पाँच सय सवारी राजधानी प्रवेश गर्छन् ।  त्यस्तै अरनिको राजमार्ग भएर दैनिक करिब पाँच हजार सवारीसाधन प्रवेश गर्छन् । तीमध्ये सबैले ती पुल भएका सडक पार नगरे पनि राजधानीभित्रको आन्तरिक यातायातको चाप भने सबैभन्दा बढी त्यहीँ पर्छ । तीबाहेक यी पुल तरेर अझ बढीले काठमाडौँ उपत्यकामा दैनिक गुजारा चलाउनु पर्छ । यी पुल नबनेकै कारण काठमाडौँ उपत्यकाको दैनिक सवारी व्यवस्था नै अस्तव्यस्त हुने गर्छ ।

यी दुई पुल मात्र होइन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वा काठमाडौँ महानगरपालिकाद्वारा निर्माण गर्नुपर्ने पुल समस्याग्रस्त छन् । प्रस्तावित कतिपय ठाउँमा काम नै सुरु हुन सकेको छैन भने कतिपय निर्माण भएका पुल पनि सञ्चालनमा आउन नसकी अलपत्र परेका छन् ।

विष्णुमती पुल भने नबनेको होइन । २०७५ सालमा नै काम सम्पन्न भएकामा पुल निर्माणमा त्रुटि रहेको भन्दै सडक विभागले सो पुल सञ्चालनमा आउन दिएको छैन । पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुल अहिले जोखिमपूर्ण पार्किङस्थल बनेको छ ।

सडक विभागका पूर्वमहानिर्देशक इन्जिनियर अर्जुनजङ्ग थापाले टेकुको पुलमा निर्माण कम्पनीले गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेकाले त्यसलाई सञ्चालनमा ल्याउँदा जुन बेला पनि दुर्घटना हुन सक्ने भएकाले पुलमा गाडी गुडाउन अनुमति नदिएको बताउनुभयो । उहाँका अनुसार पुलमा न्यून गुणस्तरको तार, डन्डी र बालुवा प्रयोग भएको छ ।

“पुलको स्ल्याब ढलानका व्रmममा गुणस्तरहीन सामग्री प्रयोग भएको प्राविधिक परीक्षणले देखाएको छ । पुलको बिचको भाग जुन बेला पनि झर्न सक्छ । त्यसले सो पुल भत्काएर पुनः निर्माण गर्नु पर्छ,” उहाँले भन्नुभयो, “पुल्चोक इन्जिनियरिङ क्याम्पसको प्राविधिक टोलीले गरेको अध्ययले ६०र७० वर्ष आयु हुनुपर्ने सो पुल ८र१० वर्षमै भत्किन सक्ने सम्भावना देखिएको छ ।”

सडक विभाग अन्तर्गतको पुल महाशाखाका सिनियर इन्जिनियर विमलकुमार बस्नेतका अनुसार यो पुल निर्माणका लागि कुल २२ करोड ६१ लाख ७४ हजार ९७४ रुपियाँको लागतमा २०७१ असार ९ गते ठेक्का सम्झौता भएको थियो ।

त्यसै गरी पप्पु कन्स्ट्रक्सनले नै जिम्मा लिएको तीनकुनेस्थित बागमती नदीमा निर्माणाधीन पुलको डिजाइनमा त्रुटि हुँदा २०७१ देखि नै अलपत्र छ । निर्माण कम्पनीले पुलको डिजाइन सच्याएर पुल निर्माणलाई अगाडि बढाउन नमान्दा पनि ती पुल अलपत्र परेका हुन् । ठेकेदारलाई बाध्य पार्ने काम पनि हुन सकेको छैन ।

पुल महाशाखाका इन्जिनियर बस्नेतका अनुसार यो पुल निर्माणका लागि कुल २४ करोड ५९ लाख ६७ हजार रुपियाँको लागतमा २०७१ साउन १० गते ठेक्का सम्झौता भएको थियो । २०७५ भित्र तीनकुने पुलको निर्माण सम्पन्न गर्नुपर्ने थियो । २०७१ मा एकै समयमा निर्माण सुरु गरिएको बागमतीको तीनकुने पुल र बिजुलीबजारस्थित धोबीखोलाको पुलमध्ये धोबीखोला पुल चार वर्ष पहिलेदेखि नै सञ्चालनमा छ ।

सडक विभाग, पुल महाशाखाका प्रमुख ललितजन खनालले टेकुस्थित पुलमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरिएकाले अहिलेकै अवस्थामा त्यसलाई स्वीकार गर्न नसकिने स्पष्ट पार्नुभयो । पुलबारे अदालतमा मुद्दा चलिरहेकाले अहिले उक्त पुलसम्बन्धी कुनै निर्णय लिन नसकिएको उहाँले बताउनुभयो । तीनकुने पुलको पुनः निर्माण सुरु गर्न त्यसको नयाँ डिजाइन भइरहेको बताउँदै डिजाइन स्वीकृत भएसँगै त्यसको ठेका लगाइने जानकारी दिनुभयो । आजको गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्