ताजिकिस्तान पहिलो पटकमै नकआउटमा, कतार समूह विजेता



काठमाडौँ । एसियन कप इतिहासमा पहिलो पटक छनोट भएको ताजिकिस्तानको कतार यात्रा समूह चरण भन्दा बढी लम्बिने भएको छ । आज भएको खेलमा १० जनामा सिमित लेबनान विरुद्ध २–१ को जित निकालेर ताजकिस्तान समूह उपविजेताका रुपमा नकआउट चरणमा पुगेको हो ।

ताजिकिस्तानले पुनरागमनका साथ खेलमा जित हासिल गरेको थियो । बासेल ज्रादिले ४७औं मिनेटमा गोल गर्दै लेबनानलाई खेलमा अग्रता दिलाएका थिए । कस्सेम एल जैन ५७औं मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिरिन पुगेपछि लेबनान १० खेलाडीमा सिमित भएको थियो । त्यसको फाइदा उठाउँदै ताजिकिस्तान २ गोल फर्काउन सफल भएको थियो ।

पार्भिजहोन उमारबाएभले ८०औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । इन्ज्युरी समयको पहिलो मिनेटमा एहसोन पान्जसान्बेको क्रसमा नुरिदिन खाम्रोकुलोभले सुन्दर हेडर गोल गर्दै ताजिकिस्तानलाई जित तर्फ डोहोर्याए ।

सोही समूहमा भएको अर्को खेलमा कतारले चीनलाई १–० लाई हराएको थियो । ६६औं मिनेटमा मोहम्मद अल–हेडोसले बक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै खेलमा कतारलाई जित दिलाए । कतार यसअघि नै अन्तिम १८ मा पुगिसकेको थियो ।

कतार सतप्रतिशत नजिता सहित ९ अंकका साथ समूह विजेता रह्यो । ताजिकिस्तानको ३ खेलमा ४ अंक रह्यो । चीन २ अंक सहित तेस्रो र लेबनान १ अंक सहित समूहको पुछारमा रह्यो । चीन अन्तिम १६ मा पुग्ने नपुग्ने निर्णयका लाग समूह चरणका अन्य खेल कुर्नु पर्ने छ । छ समूह मध्ये तेस्रो स्थानमा रहने ४ उत्कृष्ट टोली १६ मा पुग्ने छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्