सेयर बजार निरन्तर ओरालो यात्रामा 



काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ओरालो लागेको छ ।  गत साताको बुधवार देखी ओरालो लागिरहेको नेप्सेले आइतबार पनि ओरालो लागेको हो । आइतबार नेप्से परिसूचक ५.३१ अंकले ओरालो लागेको हो । नेप्से ओरालो लागेसँगै २०६१.७० विन्दुमा झरेको छ। त्यसै गरी, आइतबार सेन्सेटिभ इण्डेक्स ०.६० अङ्कले घटेको छ ,भने फ्लोट इण्डेक्स ०.३५ अङ्कले र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२० अङ्कले घटेको छ।

नेप्सेसँगै आइतबार कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ४ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा ३०७ स्टकको ७० हजार ७९० पटकको कारोबारमा ३ अर्ब २१ करोड ६७ लाख रुपैयाँ बराबरको ९२ लाख ७२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

नेप्से घटे पनि यस दिन एक स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन युनिक नेपाल लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसै गरी, यस दिन मोलुङ्ग हाइड्रोपावर कम्पनीको सेयर मूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने समाज लघुवित्तको सेयर मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको महिला लघुवित्त र रावा इनर्जीको सेयर मूल्य यस दिन ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा आइतबार हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ३३ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसै गरी, यस दिन एशियन लाइफ इन्स्योरेन्सले करिब १३ करोडको शेयर खरिदबिक्री भएको छ भने निफ्राको १२ करोडभन्दा बढीको सेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। विकास बैङ्क, वित्त, लगानी र निर्जीवन बिमा उपसमूहको परिसूचक बढेको हो। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक सर्वाधिक १.०४ प्रतिशत घटेको छ।

प्रतिक्रिया दिनुहोस्