रक्सी पिउने व्यक्तिहरूले गर्नै पर्ने परीक्षण



काठमाडौँ । रक्सीको सेवन मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने सबैलाई  जान्नै पर्ने केही कुराहरू छन् । तर हामी कतिपय कुराहरू थाहा भएर पनि अनजान जस्तै बनिरहेका हुन्छौ ।

हामीलाई थाहा छ रक्सीको सेवन मानव स्वास्थ्यका लागि रक्सी हानिकारक छ तर हामी यसैको सेवन गरिरहेका हुन्छौँ । यस्तो बानी नितान्त स्वास्थ्यकर हैन ।

रक्सी पिउनै परे पनि त्यसको मात्रा मिलाउनु उत्तम हुनसक्छ । के भनिन्छ भने महिलाले एक हप्तामा १४ युनिट र पुरुषले १६ युनिटसम्म पिउँदा हानि हुँदैन ।

यो स्वस्थ महिला वा पुरुषको हकमा हो । यदि रोगी, औषधि खाइरहेका व्यक्ति छन् भने उनीहरूमा रक्सीको यो मात्रा लागू हुँदैन । धेरैले भनिरहेको सुनिन्छ कहिलेकाहीँ पिउँदा त असर गर्दैन होला । म त हार्ड ड्रिंक गर्दिन, वाइन र बियर मात्र पिउँछु त्यसैले खास असर नगर्ला ।

मेडिकल विज्ञानका अनुसार दिनमा ६० ग्रामभन्दा बढी रक्सी पिउने र लगातार १० वर्षसम्म रक्सी पिइरहेका मान्छेको कलेजो खराब हुने जोखिम उच्च हुन्छ । त्यसैले उनीहरूले केही स्वास्थ्य परीक्षण अवश्य गर्नुपर्छ ।

कलेजोको कार्य परीक्षण

कलेजो कार्य परीक्षण (एलएफटी)रगतबाट जाँच गरिन्छ । यसमा प्रोटिन, एल्बुमिन, ग्लोबुलिन बिलिरुबिन, एएसटी (एसजीओटी) र एएलटी (एसजीपिटी), अल्कालाइन फोस्फेटेजको परीक्षण गरिन्छ । यसै गरी गामा ग्लुटामिल ट्रान्सपेप्टिडेज (जीजीटी) र लैक्टेट डिहाड्रोजिनेज (एलडीएच) जाँच गरिन्छ । एलानिन ट्रान्समिनेज (एएलटी) परीक्षणमा प्रोटिनको स्तर मापन गरिन्छ । शरीरमा एएलटीको स्तर नर्मल छ भने कलेजो ठिक छ भन्ने बुझिन्छ । यदि एएलटीको स्तर उच्च भएमा कलेजो केही खराबी वा क्षति भएको बुझिन्छ ।

अल्ट्रासाउण्ड

धेरै मदिरापन गर्ने व्यक्तिले भिडियो एक्सरे गर्नुपर्छ । यसबाट फ्याटी लिभर, अल्कोहोलिक हेपाटाइटिस, लिभर सिरोसिस र कलेजोमा क्यान्सर छ कि छैन भन्ने थाहा पाउन सकिन्छ ।

अल्बुमिन परीक्षण

यो परीक्षणले शरीरमा अल्बुमिनको स्तर मापन गरेर कलेजोको कार्यप्रणाली निर्धारण गर्न मद्दत गर्छ । अल्बुमिन कलेजोद्वारा निर्मित मुख्य प्रोटिन हो । अल्बुमिनको कम स्तरले कलेजोले राम्रोसँग काम गरिरहेको छैन भन्ने सङ्केत गर्छ । त्यस्तै अधिक रक्सी गर्ने व्यक्तिमा एसजीओटी, बिलिरुबिन र गामा ग्लुटामिल ट्रान्सपेप्टिडेज रगतमा बढ्छ ।

फाइब्रो स्क्यान परीक्षण

फ्याटी लिभर देखिएमा फाइब्रो स्क्यान परीक्षण गर्न सकिन्छ । यसबाट कलेजोमा बोसो कति फैलिएको छ र कलेजो गिलो छ कि साह्रो छ भनेर थाहा पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्