धितो पत्र बोर्ड अध्यक्षका लागि खुल्यो आवेदन, के हो मापदण्ड ?



काठमाडौँ । सरकारले नेपाल धितो पत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुलाएको छ । अर्थ मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै अध्यक्ष पदका लागि योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो । योग्यता पुगेका तथा इच्छुक नागरिकले १५ दिनभित्र अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरवारमा खामबन्दी आवेदन दिन सक्नेछन् ।

स्नातकोत्तर उपाधि हासिल गरी धितो पत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेका व्यक्ति योग्य हुनेछन् । ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागू औषध कारोबार, पुरातात्त्विक वस्तु वा संरक्षित वन्यजन्तु सम्बन्धी कुनै कसुर नभएको व्यक्ति हुनुपर्नेछ ।

अर्थमन्त्रालयको वेबसाइटमा प्रकाशित नेपाल धितो पत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिससम्बन्धी कार्यविधि २०८० को दफा ३ बमोजिम कागजात तथा विवरणहरू आवेदक स्वयम्ले प्रमाणित गरी २ प्रति पासपोर्ट साइजको फोटो, व्यावसायिक कार्य योजना तथा ५ हजार दस्तुर बुझाएको सक्कल भौचर आवेदनका साथ पेस गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्