वाफ विमिन्स च्याम्पिअनशिपको फाइनल खेलमा साबित्रा भण्डारी ‘साम्बा’ नखेल्ने



काठमाडौँ । वेस्ट एशियन फुटबल महासङ्घ (वाफ) विमिन्स च्याम्पिअनशिपको फाइनल खेलमा साबित्रा भण्डारी ‘साम्बा’ नखेल्ने भएकी छन् । साम्बा अनुबन्धित फ्रान्सको क्लब एन अभाँ ग्याङ्गाँले उनलाई बोलाएकाले उनी फिर्ता जानुपर्ने भएको हो । उनी फिर्ता जाने भएपछि नेपालको लागि भने खेल्न पाउने छैनन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् वेस्ट एशियन फुटबल महासङ्घ (वाफ) विमिन्स च्याम्पिअनशिपको फाइनल खेलमा साबित्रा भण्डारी ‘साम्बा’ सहभागी नहुने जानकारी दिएको छ ।

फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पमा अनुबन्धित साम्बाले फिफाको नियम अनुसार फिफा विन्डोमा रहेको राष्ट्रिय टोलीको खेलमा मात्र अनिवार्य उपस्थिति जनाउनु पर्ने नियम रहेको छ ।

फिफाले फेब्रुअरी १९ देखि २८ तारिखलाई महिलातर्फ फिफा विन्डो तोकेको थियो । जसमा ३ खेलसम्म खेल्न पाउने प्रावधान छ । साम्बाले समूह चरणमा नै ३ खेल खेलिसकेपनि ग्वेंगाम्पले साम्बालाई सेमिफाइनल खेल्न दिएको थियो ।

तर फ्रान्सेली लिगमा ग्वेंगाम्पले मार्च २ मा निकै महत्त्वपूर्ण खेल खेल्ने र वाफको फाइनल खेलेर उक्त खेलका लागि उपलब्ध हुन नसक्ने भएपछि क्लबले सेमिफाइनल पछि नै उनको माग गरेको छ । रेलिगेसन क्षेत्रमा रहेको लिलसँगको खेल ग्वेंगाम्पको लागि निकै महत्त्वपूर्ण छ । दुई क्लबबीच ४ अङ्कको फरक छ र यो खेल जिते साम्बा सम्मिलित टोली रेलिगेसनबाट बच्ने लगभग पक्का हुनेछ ।

फिफाको राष्ट्रिय टोली र क्लब सहभागिताको नियम अनुसार क्लबको सम्झौता हुँदा फिफा मितिमा मात्र राष्ट्रिय टोलीमा अनिवार्य सहभागी हुनुपर्ने प्रावधान छ । तर क्लब र फुटबल संघबीच सहमति भएको अवस्थामा भने मिति बाहिर पनि खेल्न पाउनेछन् ।

सन् २०१७ को फिफा अन्डर १७ विश्वकपमा इंग्ल्याण्डले उपाधि जित्दा पनि यस्तै अवस्था आएको थियो । त्यसबेला बोरुसिया डर्टमुन्डले मिडफिल्डर जेडन सान्चो इंगलिस टोलीमा भए पनि समूह चरणको खेलपछि फिर्ता बोलाएको थियो ।

विगतमा नेपालले नै सहभागिता जनाएको दक्षिण एसियाली खेलकुदको दौरान पनि रोहित चन्द व्यावसायिक अनुबन्धनमा हुँदा फिफा विन्डो बाहिर भएको प्रतियोगिता खेल्न पाएका थिएनन् । वाफ च्याम्पियनसिपमा खेलेका सबै ४ खेलमा गोल गरेकी साम्बाको गोल सङ्ख्या ९ छ । उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ता सूचीमा अग्रस्थानमा छिन् ।

प्रतिक्रिया दिनुहोस्