घट्यो खाद्यान्न आयात



काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनामा २८ अर्ब २१ करोड १६ लाख ८१ हजार रुपियाँ बराबरको खाद्यान्न आयात भएको छ । साउनदेखि माघसम्म २८ अर्ब रुपियाँ बराबरको खाद्यान्न (धान, मकै, गहुँ, जौ, कोदो) आयात भएको भन्सार विभागको तथ्याङ्कले जनाएको छ ।

गत वर्ष सो अवधिमा ३४ अर्ब ६७ करोड ८४ लाख ९८ हजार रुपियाँ बराबरको खाद्यान्न आयात भएको थियो । गत वर्षको तुलनामा चालु आवमा छ अर्ब रुपियाँ बराबरको खाद्यान्न आयात कम भएको हो । बजारमा माग कम हुँदा खाद्यान्न आयात कमी भएको हो ।

सात महिनामा सबैभन्दा धेरै मकै र धान आयात भएको छ । चामलको आयात भने गत वर्षको तुलनामा कमी आएको छ । विभागका अनुसार सात महिनामा पाँच अर्ब ६८ करोड ४० लाख २६ हजार रुपियाँ बराबरको चामल आयात भएको छ । यस्तै सो अवधिमा सात अर्ब ४२ करोड ४६ लाख रुपियाँ बराबरको धान आयात भएको छ । सात महिनामा सात अर्ब ७२ करोड ४१ लाख रुपियाँ बराबरको मकै आयात भएको छ । यस्तै दुई अर्ब ३२ करोड ८३ लाख ९५ हजार रुपियाँको गहुँ आयात भएको छ । ५२ करोड ७६ लाख रुपियाँको कोदो र १५ करोड रुपियाँ बराबरको जौ आयात भएको छ ।

भारतले चामल निर्यातमा लगाएको प्रतिबन्धका कारण चामल आयात घटेको विभागको तथ्याङ्कले देखाएको छ । बासमती चामल निर्यातमा गत भदौ महिनादेखि भन्सार शुल्कसमेत बढाएको थियो । स्थानीय उत्पादनले माग धान्न नसक्दा प्रत्येक वर्ष ठुलो परिमाणमा खाद्यान्न आयात हुने गरेकोमा गत वर्षदेखि खाद्यान्न आयातमा कमी हुँदै आएको छ ।

यस वर्ष धान रोपाइँको क्षेत्रफल घटे पनि उत्पादन बढेको तथ्याङ्क सार्वजनिक गरेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान भएको छ ।

नेपालमा अर्जेन्टिना, भारत, थाइल्यान्ड, ब्राजिल, चीन, टर्कीलगायत मुलुकबाट मकै आयात गरिन्छ । यस्तै बासमती चामल चीन, भारत, इन्डोनेसिया, इटाली, जापान, थाइल्यान्डबाट आयात गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्