साम्बा बनिन् वाफकी सर्वाधिक गोलकर्ता



काठमाडौँ । राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ बिहीबार साउदी अरेबियामा सम्पन्न पश्चिम एसियाली फुटबल महासङ्घ (वाफ) को सर्वाधिक गोलकर्ताको बनेकी छिन् ।

व्यवासयिक जिम्मेवारीका कारण फाइनल खेल्न नपाएकी साम्बाले सेमिफाइनलसम्ममा ९ गोल गरेकी थिइन् । सेमिफाइनलसम्म पहिलो रोजाईमा खेलेकी सम्बाले सिरियाविरुद्ध ४–१ को जितमा १ गोल गरेकी थिइन्। इराकविरुद्ध ५–० को जितमा सबै गोल उनले नै गरेकी थिइन् । सोही खेलमा उनले नेपालका लागि ५० अन्तर्राष्ट्रिय गोलको कोसेढुंगा पार गरेकी थिइन् ।

नेपालका लागि सर्वाधिक गोल गर्ने पुरुष खेलाडीलाई साम्बाले निकै पछाडि छाडेकी छिन्। पुरुषका लागि हरि खड्का, निराजन रायमाझी र अन्जन विष्टको नाममा समान १३ गोल छ । वाफमा प्यालेस्टाइनविरुद्ध ४–० को जितमा साम्बाले २ गोल गरेकी थिइन् ।

सेमिफाइनलमा १–० पछि परेर अन्तमा लेबनान २–१ ले हराएको खेलमा साम्बाले बराबरी गोल गरेकी थिइन् । सर्वाधिक गोलकर्ताको सुचीमा दोस्रो स्थानमा मायशा जब्रहा (५ गोल) छिन् ।

फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पमा अनुबन्धित साम्बाले फिफाको नियम अनुसार क्लबमा फर्कनुपर्ने भएकाले फाइनल गुमाउनुपरेको थियो । फिफा विन्डोमा रहेको राष्ट्रिय टोलीको खेलमा मात्र खेलाडीले अनिवार्य उपस्थिति जनाउनु पर्ने नियम छ ।

वाफ च्याम्पियनसिपको समूह चरणको खेल फिफा विन्डोमा रहेको तर नकआउट चरणका खेल भने फिफा विन्डो थिएनन् ।फिफाले फेब्रुअरी १९ देखि २८ तारिखलाई महिलातर्फ फिफा विन्डो तोकेको थियो । फिफा विन्डोमा राष्ट्रिय खेलाडीले ३ खेलसम्म खेल्न पाउने प्रावधान छ । समूह चरणमा नै ३ खेल खेलिसकेपछि पनि ग्वेंगाम्पले साम्बालाई सेमिफाइनल खेल्न दिएको थियो ।

फ्रान्सेली लिगमा ग्वेंगाम्पले शनिबार महत्त्वपूर्ण खेल खेल्दैछ । वाफको फाइनल खेलेर शनिबारको खेलमा उपलब्ध हुने सम्भावना नभएपछि क्लबले सेमिफाइनल पछि साम्बालाई बोलाएको हो । रेलिगेसन क्षेत्रमा रहेको लिलसँगको खेल ग्वेंगाम्पको लागि महत्त्वपूर्ण छ । दुई क्लबबीच ४ अंकको फरक छ । त्यो खेल जिते साम्बा सम्मिलित टोली रेलिगेसनबाट बच्ने लगभग पक्का हुनेछ ।

वाफको ९ गोलसँगै साम्बा दक्षिण एसियाली महिला खेलाडीमा पनि सर्वाधिक गोल गर्ने खेलाडीको सुचीको शीर्षस्थानमा उक्लेकी छिन् । ४६ खेलमा साम्बाको गोल सङ्ख्या ५३ पुगेको छ । उनले भारतीय नांगोम बाला देवी (५२ गोल) पछि पारेकी हुन् । साउदीबाट साम्बा बिहीबार नै फ्रान्सतर्फ गएकी थिइन् ।

नेपाल जोर्डनसँग फाइनलमा पेनाल्टी सुटआउटमा ५–३ ले पराजित भएको थियो । निर्धारित समय २–२ मा बराबरीमा टुङ्गिएको थियो । जोर्डन छैटौँ पटक उपाधि जित्न सफल भएको हो । नेपाल पहिलो सहभागितामा नै फाइनल पुग्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्