७ महिनामा साढे ८ खर्ब रेमिटेन्स



काठमाडौँ । नेपालमा मासिक १२० अर्ब रुपैयाँ रेमिटेन्स भित्रिरहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।  राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन–माघसम्म ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिटेन्स नेपाल भित्रिएको हो । यो तथ्याङ्क अनुसार मासिक १ खर्ब १९ अर्ब ८५ करोड रुपैयाँ रेमिटेन्स भित्रिरहेको छ । अघिल्लो आर्थिक वर्षमा औसत १०१ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको थियो । यो वर्ष भने रेमिटेन्स आप्रवाह बढेको छ ।

७ महिनाको तथ्याङ्क तुलना गर्दा २०७९ माघको तुलनामा माघ २०८० मा २१.६ प्रतिशतले रेमिटेन्स बढेको हो । वृद्धिदर भने अघिल्लो वर्षको तुलनामा खुम्चिएको छ । अघिल्लो वर्ष माघ महिनामा २७.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा समेत विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले मात्र बढेको थियो ।

यस वर्ष माघसम्म नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ४७ हजार १२ जना रहेको छ । यो गत वर्षको तुलनामा कम हो । गत वर्ष यसै अवधिमा ३ लाख १४ हजार ७६७ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए । यस वर्ष पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ५८ हजार ५४० जना रहेको छ । अघिल्लो वर्ष यो सङ्ख्या १ लाख ६७ हजार ७०८ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्