प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालको सचिवालयले उक्त दिन विश्वासको मत लिने व्यवस्थाका लागि सङ्घीय संसद् सचिवालयलाई आज पत्र पठाएको छ ।

प्रधानमन्त्रीबाट विश्वासको मत लिनेसम्बन्धी पत्र प्राप्त भएको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका छन् । उक्त पत्रका सम्बन्धमा संसद्का महासचिव पदमप्रसाद पाण्डेयले सभामुख घिमिरेलाई जानकारी गराएका छन् ।

सभामुख घिमिरेले विश्वासको मत लिनेसम्बन्धी व्यवस्थाका लिग फागुन २९ गते कार्य व्यवस्था परामर्श बैठक बोलाएका छन् । उक्त बैठकले सो सम्बन्धमा कार्यसूची तय गर्नेछ । सत्ता समीकरण फेरिएसँगै नेपाली काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले संसद्बाट विश्वासको मत लिन लागेका हुन् ।

नयाँ सत्ता गठबन्धनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्