कारोबारको दोस्रो दिन नेप्सेमा भारी अङ्कको वृद्धि



काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सेयर बजार परिसूचक  नेप्से ५८.५५ अङ्क उकालो लागेको छ । आज नेप्से उकालो लागेसँगै २१११.२१ विन्दुमा पुगेको छ।  सेन्सेटिभ इण्डेक्स १०.६० अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ४.१८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७६ अङ्क बढेको छ।

नेप्सेको वृद्धिलाई मङ्गलवार भोल्यूमले पनि साथ दिएको छ। अघिल्लो कारोबार दिन अर्थात् गत आइतबार २ अर्ब ९१ करोडको सेयर खरिदबिक्री भएको बजारमा ३०५ स्टकको ८२ हजार ७४६ पटकको कारोबारमा ४ अर्ब ५५ करोड १६ लाख रुपैयाँ बराबरको १ करोड ६ लाख ९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

 मङ्गलवार ५ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।  मङ्गलवार जनउत्थान सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त, विन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्त र जाल्पा लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसै गरी,  मङ्गलवार सपोर्ट माइक्रोफाइनान्स, नाडेप लघुवित्त र अभियान लघुवित्तको शेयर मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। मूल्य घटेका स्टकहरुको गिरावटदर भने ३ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको मङ्गलवार ३७ करोड १९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यसै गरी, मङ्गलवार सोनापुर मिनरल्सको २४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सन नेपाल लाइफ इन्स्योरेन्सको कारोबार रकम साढे १६ कारोड नाघेको छ।

मङ्गलवार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये सोमबार जीवन बिमा उपसमूहको परिसूचक सर्वाधिक ५.४४ प्रतिशत बढेको छ। त्यसै गरी, यस दिन लघुवित्त उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन र निर्जीवन बिमा उपसमूहको परिसूचक ३।१५ प्रतिशत बढेको छ।

प्रतिक्रिया दिनुहोस्