देउवालाई एमालेसँग सहकार्य गर्ने प्रचण्डको चुनौती



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसलाई एमालेसँग मिले जान चुनौती दिएका छन् । विश्वासको मत लिने आफ्नो प्रस्तावमाथि संसद्मा उठेको प्रश्नको जवाफ दिने क्रममा उनले ठुलो दलहरू मिले तेरो हालत के हुन्छ भनेर आफूलाई दबाबमा राख्न खोजेको आरोप लगाएका हुन् ।

उनले भने, ‘ठुला दलहरू हामी मिल्यौँ भने तेरो हालत के हुन्छ रु यसो भनेर पहिला पनि भनियो, आज पनि भनियो । मेरो त कामना छ, तपाईँहरू मिल्नुस् । तपाईँहरू सबै मिल्नुभयो भने माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा संविधानको पक्षमा, राष्ट्रियता सुदृढीकरणको पक्षमा लडिरहन्छ । हिजो त तपाईँहरू सबै मिलेर टाउको काट्न खोजैकै हो नि त ।’ ठुलाहरू दल मिल्दा आफू नडराउने उनले बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले संवाद गरौँ भनेर काँग्रेस सभापति शेरबहादुर देउवालाई राखेको प्रस्ताव स्मरण गर्दै उनले भने, ‘यहाँ पूर्व प्रधानमन्त्री केपी ओलीजीले बोल्दै गर्दा बोली नचल्ने भाषा एउटा मर्मका साथ प्रयोग गर्नुभयो । उता पट्टी माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले अब बोल्ने हो भन्नुभयो ।’

‘बोल्नुस्, म भन्छु, बोली फुकाउनुस् । बनाउनुस् सहकार्य,’ उनले भने, माओवादी केन्द्र, प्रचण्ड वा प्रधानमन्त्री त्यसबाट दबाबमा पर्छ भन्ने भ्रम नराख्नुस् ।’
आफूलाई फाइदा हुन्छ, राजनीतिक रूपमा हित हुन्छ भने मिल्न र त्यस्तो हुँदैन भन्ने लागेमा गठबन्धन छोड्न हरेक दल स्वतन्त्र रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्