उमेर पुगे पछि बिहे गरे पाइन्छ ५० हजार 



महोत्तरी । महोत्तरीको बर्दिबास नगर क्षेत्रमा उमेर पुगेर बिहे गर्ने मुसहर जाति समुदायका दम्पतीले रु ५० हजार नगद प्रोत्साहन रकम पाउने भएका छन् । सोमबार बर्दिबास–१४ स्थित नमुना मुसहर बस्तीमा एक सय आठ जनाको लघु जीवन बिमा गराएपछि बर्दिबास नगरपालिका प्रमुख प्रह्लादकुमार क्षेत्रीले सो प्रोत्साहन रकम घोषणा गरेका हुन् ।

“छोराछोरीको उमेर २० वर्ष पुगेपछि मात्र उनीहरूको विवाह गर्नुहोस्, नगरपालिका कार्यालयले रु ५० हजार नगद प्रोत्साहन रकम दिनेछ”, नगरप्रमुख क्षत्रीले भने, “यसले तपाईँहरूको स्वास्थ्य र परिवार राम्रो बन्ने छ ।” यो कार्यक्रम नगर क्षेत्रका सबै मुसहर समुदायमा लागू हुने क्षेत्रीले स्पष्ट पारे ।

नगर क्षेत्रभित्रका स्थायी बासी मुसहर पुरुष महिला दुवैलाई यो रकम उपलब्ध गराइने क्षत्रीको भनाइ छ । सानै उमेरमा विवाह गरी बच्चा जन्माउँदा मुसहर महिलाको स्वास्थ्यमा समस्या बढ्दै गएको क्षेत्रीले बताए । २० वर्ष नपुगी विवाह गर्न नपाइने व्यवस्था भए पनि मुसहर बस्तीमा बालविवाह भने यथावत् नै छ ।

अठारदेखि ६९ वर्ष उमेर समूहका मुसहरहरूको तीन वर्षे लघु जीवन बीमाबापत् रकम बर्दिबास नगरपालिकाले एकमुस्ट रु एक लाख १९ हजार तीन सय ४५ जम्मा गरेको हो । बिमा ‘लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स’ लिमिटेड बर्दिबास शाखामा गरिएको छ ।

नगरप्रमूख क्षत्रीसहित बिमा कम्पनीका अधिकृत बस्तीमै पुगेर लघु जीवन बिमा गराइएको हो । गरिबी, अशिक्षा र सबैखाले अवसरबाट वञ्चित मुसहरलाई भइपरी आउने दुर्घटनामा राहत होस् भन्ने उद्देश्यले लघु जीवन बिमा गराइएको जनाइएको छ । बीमितले तीन वर्षपछि भवितव्य पर्दा रु एक लाख नगद पाउने लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका शाखा प्रमुख रवीन्द्रकुमार मिश्रले जानकारी दिए ।

नगरपालिकाले बिमा गरिदिँदा स्थानीय सरकारबाट सहयोग पाइने आशा जागेको बस्तीकी ५८ वर्षीया मानकी सदाले बताइन् । सोही बस्तीका ६६ वर्षीय सुकेश्वर सदा र २२ वर्षीया निशा सदाले लघु जीवन बिमा गरिदिएकोमा खुसी व्यक्त गरे ।

मुसहर बस्तीकी ५७ वर्षीया रजिया सदाले आफ्ना नातिनातिनालाई २० वर्ष उमेर कटाएर मात्र बिहे गर्न सल्लाह दिने बताइन् । बर्दिबास–१४ को नमुना मुसहर बस्ती धुर्मुस सुन्तली फाउण्डेसनले बनाएर ५२ मुसहर परिवारलाई २०७४ साल वैशाख १ गते हस्तान्तरण गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्