आउँदो बैठकमा रविमाथि छानबिन गर्न समिति  गठन गर्न माग 



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको सहकारीको रकम हिनामिना प्रकरणमा छानबिन गर्न  छानबिन समिति गठन गर्नु पर्न माग राखेको छ ।

प्रतिनिधि सभाको बुधवार को बैठकको सुरुमा बोल्दै काँग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले रवि लामिछानेले सहकारीको रकम हिनामिना गरेको प्रमाण छैन भन्ने प्रधानमन्त्री र प्रमाण छ भन्ने हामी प्रतिपक्ष भएकाले यसको छिनोफानो गर्न समिति गठन गर्नुपर्ने माग राखेकी हुन् ।

उनले भनिन्, ‘आउँदो सदनमा सरकार पक्षले समिति बनाउन मानेन भने यो सदन हामीले होइन, उहाँहरूलाई चाहिएको रहेनछ, उहाँहरूलाई जनताको काम चाहिएको छैन भन्ने बुझ्ने छौँ ।’

जीबी राई समूहले सञ्चालन गरेका सहकारी संस्थाहरूमा भएको अनियमिततालाई लिएर लामिछानेमाथि पनि प्रश्न उठ्दै आएको छ । पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम लगायतका सहकारीमा बचतकर्ताले जम्मा गरेको करोडौं रकम अनियमितता गर्दै ग्यालेक्सी टीभीमा समेत खर्च गरेको पाइएको छ ।

राजनीतिमा आउनुअघि ग्यालेक्सी टीभीको प्रबन्ध निर्देशक रहेका रवि लामिछानेका नाममा समेत रकम निकालेको देखिएपछि उनमाथि निरन्तर प्रश्न उठ्दै आएको छ । काँग्रेसले यस विषयमा छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने र लामिछानेले राजीनामा दिनुपर्ने माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्