बलात्कार मुद्दामा ब्राजिलियन फुटबलर ड्यानी आल्भेसलाई ससर्त जमानत 



ब्राजिलियन फुटबलर ड्यानी आल्भेस

काठमाडौं । स्पेनिस अदालतले चर्चित ब्राजिलियन फुटबलर ड्यानी आल्भेसलाई एक मिलियन युरो धरौटीमा जमानत दिएको छ । एक महिलामाथि बलात्कारको मुद्दामा जेल सजायको एक चौथाई भुक्तान गरेपछि ससर्त रिहा गर्न सकिने फैसला गरेको हो ।

अदालतको सर्तअनुसार आल्भेसले आफ्नो राहदानी समेत बुझाउनु पर्नेछ । ४० वर्षीय आल्भेसलाई फेब्रुअरीमा स्पेनको अदालतले बलात्कार मुद्दामा दोषी ठहर गर्दै चार वर्षको कैद तोकेको थियो । सन् २०२२ मा स्पेनको एक नाइट क्लबमा बलात्कार गरेको भन्दै एक महिलाले आल्भेसविरुद्ध मुद्दा दर्ता गराएकी थिइन् ।

यसै आरोपमा पक्राउ परेका आल्भेस २०२३ को जनवरीयता प्रहरी हिरासतमा थिए । आल्भेसले यसअघि जमानतको अपिल गरे पनि स्पेन छोड्न सक्ने उच्च सम्भावना देखाउँदै अदालतले उनको अपिल खारेज गर्दै आएको थियो । हाल जमानत पाए पनि पासपोर्ट बुझाउनुपर्ने र स्पेन छोड्न नपाउने अदालतको सर्त छ । अदालतले चार वर्षको सजाय तोके पनि आल्भेस र जाहेरीकर्ता दुवैले उपल्लो स्तरमा अपिल गरेका छन् । आल्भेसले आफू निर्दोष रहेको अपिल गरेका छन् ।

जाहेरीकर्ताले भने आल्भेसलाई नौ वर्षको कैद सजाय हुनुपर्ने मागसहित अपिल गरेका छन् । वार्सिलोनाको उच्च अदालतमा हालसम्म आल्भेस मुद्दाको मिति तय भइसकेको छैन । स्पेनिस क्लब बार्सिलोनाका पूर्वखेलाडी समेत रहेका आल्भेस विश्व फुटबलमा सबैभन्दा धेरै उपाधि जित्ने खेलाडीमध्येका एक हुन् । उनले बार्सिलोनाबाट २४७ खेल खेलेका छन् । यस्तै, सन् २००६ मा ब्राजिलबाट ‘डेब्यु’ गरेका आल्भेसले सन् २०२२ सम्म १२६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्