आईपीएलमा हार्दिक पान्ड्यालाई गुजरातले दियो पहिलो झट्का



हार्दिक पान्ड्या

काठमाडौँ । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा  मुम्बइ इन्डियन्सलाई ६ रनले हराउँदै विजयी सुरुआत गरेको छ । गुजरात छाडेर मुम्बइको कप्तानको रूपमा फर्किएका हार्दिक पान्ड्याले पहिलो खेल हारबाट सुरुआत गरेका छन् । मुम्बइले रोहित शर्मालाई कप्तानबाट हटाउँदै हार्दिकलाई नेतृत्व दिएको थियो ।

जितको लागि १६९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बइले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनायो । मुम्बइका डेवाल्ड ब्रेभिसले ३८ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ४६ रन बनाए । त्यस्तै रोहित शर्माले २९ बलमा ७ चौका र १ छक्कासहित ४३, इशान किशन शून्य, तिलक बर्मा २५, टिम डेविड र हार्दिक पान्ड्या ११/११ रनमा आउट भए ।

गुजरातका आजमतुल्लाह ओमरजाई, उमेश यादव, स्पेन्सर जोनसन र मोहित शर्माले २/२ विकेट लिए । अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनायो । गुजरातका साई सुदर्शनले ४५, शुभमन गिल ३१, राहुल टेवाटिया २२ र डेविड मिलर १२ रनमा आउट भए ।

मुम्बइका जसप्रित  बुमराहले ४ ओभरमा मात्रै १४ रन खर्चेर ३ र जेराल्ड कोट्जीले २ विकेट लिए । आईपीएलमा आज साँझ रोयल च्यालेन्जर्स बेंग्लोर र पञ्जाब किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्